
EV सुरक्षामाथि उठेको प्रश्नमा साइमेक्सकी डायरेक्टर श्रेष्ठको जवाफ– ‘तथ्य र प्रविधिमा विश्वास गरौँ’
काठमाडौं- पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधन (EV) मा आगलागीका केही घटना सार्वजनिक भएसँगै यसको सुरक्षा र ब्याट्री प्रविधिबारे सेवाग्राहीले प्रश्न उठाउन थालेका छन्। यस्तो अवस्थामा BYD गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता साइमेक्स इन्टरनेशनलकी डायरेक्टर एमुना श्रेष्ठले EV प्रयोगकर्तालाई प्रविधिको सुरक्षा र विश्वव्यापी बजारको अवस्थाबारे आश्वस्त हुन आग्रह गरेकी छन्।
श्रेष्ठका अनुसार EV मा सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय हो र ब्याट्री, चार्जिङ प्रणाली तथा Battery Management System (BMS) मा आधुनिक प्रविधिको प्रयोगले सुरक्षालाई प्राथमिकतामा राखेको हुन्छ। अमेरिकी सडक सुरक्षा निकाय NHTSA ले पनि EV ब्याट्रीमा तापक्रम नियन्त्रण, ब्याट्री व्यवस्थापन प्रणाली र आगलागी जोखिम न्यूनीकरणका लागि सुरक्षा मापदण्ड विकास गरिएको जनाएको छ।
“EV मा प्रश्न उठ्नु स्वाभाविक हो। तर एउटा–दुई घटनालाई आधार बनाएर सम्पूर्ण विद्युतीय सवारी प्रविधिलाई असुरक्षित भन्नु उचित हुँदैन। हामीले तथ्य, प्रविधि र परीक्षणका आधारमा मूल्याङ्कन गर्नुपर्छ,” श्रेष्ठको भनाइ छ।
विश्व बजारमा पनि EV को प्रयोग तीव्र रूपमा बढिरहेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) का अनुसार सन् २०२५ मा विश्वभर २ करोडभन्दा बढी विद्युतीय कार बिक्री भएका थिए, अर्थात् बिक्री भएका प्रत्येक चार नयाँ कारमध्ये करिब एक EV थियो।
त्यस्तै, EV ब्याट्रीमा प्रयोग हुने प्रविधि पनि निरन्तर विकास भइरहेको छ। IEA का अनुसार २०२५ मा विश्वभर EV ब्याट्रीको प्रयोग करिब १.२ टेरावाट–घण्टा पुगेको थियो, जुन अघिल्लो वर्षभन्दा झण्डै ३० प्रतिशत बढी हो।
श्रेष्ठले EV सुरक्षाका लागि गुणस्तरीय ब्याट्री, BMS, तापक्रम नियन्त्रण, सही चार्जिङ प्रणाली र निर्माता तथा अधिकृत सर्भिस सेन्टरको मापदण्डअनुसारको मर्मतसम्भार महत्वपूर्ण हुने बताएकी छन्।



कागजपत्र |
