

बालुवाटारमा चलचित्र ‘सर्वजित’, प्रधानमन्त्री देउवाले गरे शुभ मुहूर्त

काठमाडाैं – चलचित्र ‘सर्वजित’को प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चलचित्रको शुभ मुहूर्त गरेका हुन् ।
दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनीमा निर्माण हुन लागेको चलचित्रलाई दिनेश डीसीले निर्देशन गर्नेछन् । नेपालमा लैंगिक तथा जातीय विभेदको विरुद्धमा कार्य गर्दै आएको दलित महिला केन्द्रले चलचित्र निर्माण गर्न लागेको हो ।
१७ औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो । रणिन्द्र बराइलीले लेखेका लेखमा आधारित कथा, जनक खड्काको पटकथा रहने चलचित्रमा मोहन निरौलाको संवाद रहनेछ ।
चलचित्रमा शौरभ लामाको छायाँकन, एन वि. महर्जनको द्वन्द्व, एलिश कार्कीको पार्श्व संगीत, नहकुल खड्काको सम्पादन रहनेछ । भदौबाट छायाँकनमा जाने भनिएको चलचित्रका लागि कलाकारहरू भने केही समयपछि मात्रै सार्वजनिक गर्ने जनाइएको छ ।
चलचित्र बागलुङ, पाल्पा, पोखरा, वनारस र काठमाडौंमा छायाँकन हुनेछ । चलचित्र निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको छ ।
पर्यटनमन्त्री आलेले चलचित्र निर्माणमा ५ महिनाको तलब सहयोग गर्ने
चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री प्रेम आलेले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

