

होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग निषेध

काठमाडाैं – होटल एशोसिएसन नेपाल (हान)ले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको छ ।हानले जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चालन गरेको थियो ।
जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकको कारण भएको भन्दै उनले प्रदूषण घटाउने, जलवायु परिवर्तनको असरलाई कम गराउँदै जाने लक्ष्यका साथ अभियान थालेको हानका उपाध्यक्ष विनायक शाहले बताए ।
उनले २०२४ सम्ममा होटलमा आउनेहरूलाई प्लाष्टिकजन्य वस्तु बेगर सेवा दिने काम सफल गर्ने लक्ष्य रहेको बताए ।
‘प्लाष्टिकभन्दा प्राकृतिक कुराहरू केही मात्रामा महँगो हुन्छ तर होटलहरूका लागि शुरुआती चरण हो यो, लङटर्ममा फाइदा हुन्छ,’ उनले भने, ‘शुरुमा ग्राहकलाई न्यूनतम हुनेसम्म के गर्न सक्छौँ त्यो गर्नेछौँ । सामानहरु बजारमा उपलब्ध छ । सेवा क्षेत्र भएकोले गुणस्तर सर्वोपरी नै हुन्छ । प्लाष्टिक फ्री सामानहरू पनि टेस्टेड, क्वालिटी सर्टिफिकेशन भएका हुन्छन् ।’

