मधेस प्रदेश : ३ जिल्लामा कांग्रेस एक्लैको जिसस बन्ने, कुन जिल्लामा कस्तो छ अंकगणित?
काठमाडौं- स्थानीय तहको निर्वाचन सकिएसँगै मधेस प्रदेशका राजनीतिक दलहरू जिल्ला समन्वय समिति (जिसस) गठनको जोड घटाउमा लागेका छन्।
यतिबेला दलहरूको ध्यान जिसस गठनमा केन्द्रित भएको छ। एक्लै जिसस गठन गर्ने अवस्थामा पुगेका पार्टीहरू उम्मेदवार छनोटमा लागेका छन् भने अन्य जिल्लामा दलहरू बहुमत पुर्याउन लागेका छन्।
८ जिल्ला रहेको मधेस प्रदेशका तीन जिल्लामा कांग्रेस एक्लैले जिसस बनाउने भएको छ। अन्य जिल्लामा भने दुई वा दुई भन्दा बढी पार्टी मिलेर जिसस बनाउनुपर्ने अवस्था छ।
कुन जिल्लामा कुन पार्टीको जिसस बन्ला ? यस्तो छ अंकगणितः
पर्सामा कांग्रेसको एकल
१४ स्थानीय तह रहेको पर्सामा जिसस गठनका लागि ८ मत आवश्यक हुन्छ। तर, कांग्रेस एक्लैसँग १२ मत छन्।
त्यहाँ कांग्रेसले ४ प्रमुख र ८ उपप्रमुख, एमालेले ५ प्रमुख र ५ उपप्रमुख, जसपाले ४ प्रमुख र १ उपप्रमुख, लोसपा १ प्रमुख जितेको छ।
सर्लाहीमा कांग्रेसको एकल जिसस
१९ स्थानीय तह रहेको सर्लाहीमा कांग्रेसको एकल जिसस बन्ने भएको छ।
जिसस गठनका लागि आवश्यक २० मत भन्दा कांग्रेससँग तीम मत बढी छन्।
अन्य सबै दल मिले पनि जिसस बनाउन आवश्यक बहुमत पुग्ने अवस्था छ्रन।
त्यहाँ कांग्रेसले १२ प्रमुख र ११ उपप्रमुख जितेको छ। त्यस्तै, माओवादीले ३ प्रमुख र ३ उपप्रमुख, जसपाले २ प्रमुख र २ उपप्रमुख, एमालेले १ प्रमुख र २ उपप्रमुख, लोसपाले १ प्रमुख र १ उपप्रमुखमा विजय प्राप्त गरेका छन्।
धनुषामा पनि कांग्रेसको एकल बहुमत
धनुषामा जिसस गठनका लागि कांग्रेसको एकल बहुमत छ। त्यहाँ कांग्रेसबाहेक अरु सबै दल मिले पनि जिसस गठनका लागि बहुमत पुग्दैन।
धनुषामा कांग्रेसले १० प्रमुख र ११ उपप्रमुख, एमालेले ३ प्रमुख र ४ उपप्रमुख, जसपाले ३ प्रमुख र १ उपप्रमुख, माओवादी केन्द्रले १ प्रमुख र २ उपप्रमुख तथा एक स्वतन्त्र प्रमुखमा विजयी भएका छन्।
सप्तरीः कांग्रेस र जसपा सम्भव, अन्यको असम्भव
पर्सामा जिसस गठन गर्नका लागि कुनै दलसँग बहुमत छैन। त्यहाँ कांग्रेस र जसपा मिलेमा जिसस गठन गर्न सक्छन्। कांग्रेसबाहेकको जिसस गठन भए सबै दल मिल्नुपर्ने हुन्छ, जुन असम्भव छ।
त्यहाँ, कांग्रेसले ५ प्रमुख र ७ उपप्रमुख, जनता समाजवादी पार्टीले ३ प्रमुख र ५ उपप्रमुख, लोसपाले ३ प्रमुख र २ उपप्रमुख, एमालेले ३ प्रमुख र १ उपप्रमुख जितेको छ।
त्यस्तै, जनमत पार्टीले २ प्रमुख र १ उपप्रमुख, माओवादी केन्द्रले १ प्रमुख र १ उपप्रमुख तथा नेकपा एसले १ प्रमुख र १ उपप्रमुखमा विजयी प्राप्त गरेका छन्।
सिराहामा एमालेबाहेकको नबन्ने
१७ स्थानीय तह रहेको सिराहामा एमाले एक्लैलाई जिसस बनाउन एक मत आवश्यक छ। एमाले बाहेक अन्य सबै दल मिले पनि जिसस बन्ने अवस्था छैन।
त्यहाँ एमालेले १० प्रमुख र ७ उपप्रमुख, जसपाले ३ प्रमुख र ५ उपप्रमुख, कांग्रेसले २ प्रमुख र ४ उपप्रमुख, माओवादी केन्द्रले १ प्रमुख र १ उपप्रमुख तथा नेकपा एसले १ प्रमुख जितेको छ।
महोत्तरीः मिलिजुली बनाउनुपर्ने
महोत्तरीमा जिसस गठनका लागि जसपा र लोसमा मिल्नुपर्नेछ। अन्यथा यी दुई दलमध्ये एक दलले अन्य दलसँग मिलेर पनि जिसस गठन गर्न सक्नेछन्।
यस जिल्लामा जिसस गठनका लागि कुनै दलले बहुमत ल्याउन सकेका छैनन्।
यहाँ जसपाले ५ प्रमुख र ६ उपप्रमुख, लोसपाले ५ प्रमुख र ३ उपप्रमुख, कांग्रेसले २ प्रमुख र ४ उपप्रमुख, एमालेले १ प्रमुख र १ उपप्रमुख, स्वतन्त्रले १ प्रमुख र १ उपप्रमुख, तमलोपाले १ प्रमुखमा जित हात पारेका छन्।
रौतहतः कुनै दलको छैन बहुमत
रौतहतमा जिसस गठनका लागि कुनै दलको बहुमत छैन।
कांग्रेस र नेकपा एस मिलेमा जिसस गठन गर्न आवश्यक बहुमत पुग्छ, तर अन्य दल मिल्दा बहुमत पुग्दैन।
त्यहाँ कांग्रेसले ७ प्रमुख र ७ उपप्रमुख, नेकपा एसले ४ प्रमुख र ४ उपप्रमुख, एमालेले ३ प्रमुख र २ उपप्रमुख, लोसपाले २ प्रमुख र २ उपप्रमुख, जसपाले १ प्रमुख र २ उपप्रमुख, माओवादी केन्द्रले १ प्रमुख र १ उपप्रमुख जितेको छ।
बारा
बारामा पनि जिसस गठनका लागि कुनै दलसँग बहुमत छैन। मिलेर जिसस गठन गर्नुपर्ने अवस्था छ।
त्यहाँ एमालेले ५ प्रमुख र ६ उपप्रमुख, कांग्रेसले ४ प्रमुख र ४ उपप्रमुख, जसपाले ३ प्रमुख र ३ उपप्रमुख, लोसपाले २ प्रमुर २ उपप्रमुख, विवेकशिल साझा पार्टीले १ प्रमुख र १ उपप्रमुख, मओवादीले १ प्रमुखमा जित हासिल गरेको छ।