१७ डिआईजी पदमा दर्जनौं एसएसपीको दौडधुप, को-को छन्?


काठमाडौं – सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी) बढुवा प्रक्रियाका लागि आवश्यक प्रक्रिया अगाडि बढाएपछि अहिले नेपाल प्रहरीमा बढुवाको सरगर्मी ह्वात्तै बढेको छ।

जनपदतर्फ डिआईजीको संख्या २० रहेको छ। जसमध्ये १७ वटा डिआईजीको पद रिक्त रहेको छ। सरकारले डिआईजी बढुवाको तयारी थालेपछि अहिले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरुबीच दौडधुप चलेको छ।

१७ डिआईजी पदको लागि अहिले दुई टोलीका एसएसपीहरु प्रतिस्पर्धामा छन्। २०५१ चैत ५ मा सेवा प्रवेश गर्नेहरु र २०५२ भदौमा भर्ना भएका प्रहरी अधिकृतहरु प्रतिस्पर्धामा रहेपनि बढुवामा भने सकस देखिएको छ।

२०५२ मा भर्ना भएका एसएसपी अशोक सिंहलाई एक नम्बरमा बढुवा गर्न बालुवाटारको दबाब छ। तर, गृहमन्त्री बालकृष्ण खाँण २०५१ को टोलीलाई बरियताक्रमानुसार बढुवा गर्न चाहेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गर्ने बुझिएको छ।

सिंह २०५१ मा भर्ना भएको टोलीभन्दा १५ महिनापछि २०७७ वैशाख १७ गते एसएसपीमा बढुवा भएका हुन्। २०७५ फागुन ६ मा एसएसपी बढुवा भएकाहरुमध्ये डिआईजी बढुवामा अगाडि आउने अधिकृत भावी आईजी बन्ने पक्कापक्की छ।

२०७५ फागुन ६ मा १३ जना अधिकृतहरु एसएसपी भएका थिए। ०५१ मा भर्ना भएको टोलीबाट डिआईजीको लागि एसएसपीहरु दिपक थापा, बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, सन्दीप भण्डारी, भीम ढकाल, उमेशराज जोशी, रामदत्त जोशी, मिरा चौधरी, किरण बज्राचार्य, श्याम ज्ञवाली प्रतिस्पर्धामा अगाडि छन्।

यी मध्ये कार्यक्षमता र पहुँचका आधारमा थापा पहिलो नम्बरमा देखिएका छन्। बरियतामा ५ नम्बर भएपनि उनी बढुवाको दाबेदारमा एक नम्बरमै देखिन्छ।

महानगरीय अपराध महाशाखाको सफल कमाण्ड सम्हालिसकेका एसएसपी थापाले उपत्यकामा भएका ठूला अपराध अनुसन्धानमा सफलता हासिल गरेका छन्। पूर्वआईजीपीद्वय सर्वेन्द्र खनाल र शैलेश थापा क्षेत्रीबाट समेत उनले कार्यसम्पादन मूल्यांकनमा नम्बर राम्रो पाएकाले एसएसपी थापाको बढुवा सहज भएको बताइन्छ।

त्यस्तै एसएसपी कुँवरले हाल अपराध महाशाखाको कमाण्ड सम्हालिरहेका छन्। उनले समेत अपराध अनुसन्धानमा राम्रो सफलता हासिल गरेका छन्। प्रहरी प्रवक्ताको रुपमा काम गर्दा कुँवरले सूचना सम्प्रेषणमा राम्रो भूमिका निभाएका थिए।

बरियतामा एक नम्बरमा रहेका सन्दीप भण्डारी पनि डिआईजी बढुवामा अगाडि आउनको लागि चर्को दौडधुप गरिरहेका छन्। त्यसैले उनको पनि अगाडि आउने प्रबल सम्भावना देखिन्छ।

त्यस्तै भीम ढकाल समेत बढुवाको दौडमा अगाडि आउने सम्भावना रहेको छ। महानगरीय ट्राफिक महाशाखाको जिम्मेवारी सम्हाल्दा उनले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाएका थिए। हाल ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमाण्ड सम्हालिरहेका छन्।

उनीहरुभन्दा १५ महिनापछि २०७७ वैशाख १७ गते एसएसपीमा बढुवा भएका अधिकृतहरुमध्ये चार जनालाई सरकारले डिआईजी बनाउने तयारी गरेको छ। जसमा एक नम्बरमा अशोक सिंह आउने सम्भावना रहेको छ।

डिआईजी बढुवाका लागि दौडमा रहेका सिंहले काठमाडौं प्रहरी प्रमुख हुँदा काठमाडौंको शान्ति सुरक्षाको विषयमा राम्रोसँग काम गरेको हुनाले उनलाई सरकारले अगाडि ल्याउने प्रबल सम्भावना रहेको छ।

०७७ वैशाखमा वीरेन्द्र बस्याल, जनक भट्टराई, भरत बोहोरा, बिष्णुकुमार केसी, सुदिप गिरी, दुर्गा सिंह, किरण राणा र यज्ञविनोद पोखरेल एसएसपीमा बढुवा भएका थिए। मेरिट लिस्टमा तल भएपनि उनीहरु २०५१ को टोलीलाई उछिनेर बढुवा हुने लाइनमा रहेका छन्।

सिनियर ब्याचका केही एसएसपीहरु पटक–पटक कारबाहीमा परेको र कार्यक्षमतामा कमजोर भएकाले छुट्ने सम्भावना रहेकाले २०५२ को टोली अगाडि आउन खोजिरहेको स्रोत बताउँछ।

प्रहरी नियमावली २०७१ को नियम २७ (१) (ख) अनुसार डिआईजीको बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, आईजीपी सदस्य र आईजीपीले तोकेको एआईजी सदस्य सचिव रहन्छन्।

नियम ३० उपनियम (२) (१) अनुसार बढुवाका लागि बस्ने समितिले ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर बढुवा गर्नुपर्छ।

कार्य सम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवबापत ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७।५, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५, बढुवा समितिले दिने ७.५ अंक गरी सबैभन्दा बढी अंक प्राप्त गर्ने व्यक्तिलाई सिफारिस गर्नुपर्ने प्रावधान छ।

बढुवा समितिले दिने नम्बरमै चलखेल हुने भएकाले बढुवामा सधैं सोसफोर्स हुने गरेको छ। त्यसैले डिआईजीका आकांक्षीहरु शक्तिकेन्द्र धाउन थालिसकेका छन्। कतिपय त बढुवाको लागि पैसा बोकेर नेताहरुको घरमा समेत पुग्छन्।

प्रतिक्रिया