

काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ स्थित ढुंगेअड्डा पिपलबोट अगाडिको मुख्य सडकमा एक सार्वजनिक बसमा आकस्मिक रूपमा आगलागी भएको छ ।
कलंकीबाट थानकोटतर्फ गइरहेको बागमती प्रदेश ०३–०१–००५ ख ९७८६ नम्बरको बसमा अचानक आगो लाग्दा बस पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिएका छन् ।
उनका अनुसार बसको फाइबर सर्ट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आगलागी नियन्त्रणका लागि नगरपालिकाको दमकल र स्थानीय पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयवासी सक्रिय भएका थिए ।
यद्यपि बस जलेर पूर्ण रूपमा नष्ट भए पनि कुनै पनि मानवीय क्षति नहुँनु सुखद पक्ष रहेको प्रहरीले जनाएको छ ।

