बर्दियामा ४७, बारामा ५५ र रसुवामा ६० प्रतिशत मत खस्यो


काठमाडाैं – स्थानीय तह निर्वाचनअन्तर्गत बर्दियामा ४७, बारा ५५ र रसुवामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ ।

बर्दियामा दिउँसो ३ बजेसम्म ४७.०७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताएका छन् । मतदानस्थलमा बिहान मतदाता कम देखिए पनि दिउँसो भीडभाड भएको उनले जानकारी दिए ।

त्यस्तै, बारा जिल्लाको १६ वटा पालिकामा आज भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए ।

बारागढी सिम्रौनगढ प्रचरौटा मतदान केन्द्रमा मतदान सुरु हुन लाग्दा दुवै पक्षबीच झडप भएकामा अनुगमन टोलीले दुवै पक्षलाई सम्झाइ मतदान सुरु गराएको मुख्य निर्वाचन अधिकृत रेग्मीले बताए । अहिलेसम्म सबै मतदानस्थलमा निरन्तर मतदान सञ्चालन भइरहेको उनको भनाइ छ ।

त्यस्तै, रसुवामा २:३० बजेसम्म ६० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको थियो ।

उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत नेपालले बताए । जिल्लाको ५१ मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गरिरहेका छन् ।

प्रतिक्रिया