आयोगको प्रारम्भिक अनुमान: मुलुकभर ६४ प्रतिशत मतदान

४१ ठाउँमा मतदान स्थगित


काठमाडौं – स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार ६४ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबार विहान ७ बजेदेखि बेलुकासम्म ६४ प्रतिशत मतदान भएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमै ५२ प्रतिशतमात्रै मतदान भएको छ । ‘यो प्रारम्भिक तथ्यांक हो, यो बढ्न पनि सक्छ । तर हामी यो तथ्यांकमा खुसी छैनौँ, यो आयोगले अनुमान गरेको भन्दा फरक तथ्य हो,’ उनले भने । आयोगले यसअघि ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अनुमान गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले एकैपटक निर्वाचन हुँदा सुरक्षा प्रबन्धमा समस्या भएको महसुस भएको बताए । त्यस्तै, राजनीतिक दल र उम्मेदवारहरूबाट समेत असहयोग भएको उनले बताए ।

४१ ठाउँमा मतदान स्थगित

यस्तै ४१ ठाउँमा मतदान स्थगित भएको छ। झडपका कारण विभिन्न ठाउँमा मतदान स्थगित भएको हो। यी ठाउँहरुमा निर्वाचन आयोगले अर्को मितिमा चुनाव गर्ने छ। केही ठाउँमा दिउँसो रोकिएकाले अहिले पनि मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

मतदान सकिएका स्थानीय तहको मतपेटिका संकलन गरेर गणनाको तयारी भइरहेको आयोगले जनाएको छ। आजै २० प्रतिशत ठाउँमा गणना गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया