हुम्ला दिनभर अवस्था तनावग्रस्त, मतपेटिका ल्याउँदै गरेको टोलीमाथि आक्रमण


हुम्ला – कर्णालीको हिमाली जिल्ला हुम्लामा दिनभर अवस्था तनावग्रस्त रह्यो । अहिले पनि मतपेटिका ल्याउँदा निर्वाचन अधिकारीहरूको टोलीमाथि आक्रमण भएको हुम्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन अधिकृत श्यामबाबु रानाले चंखेली गाउँपालिका–६ को हिमालय माध्यमिक विद्यालयको मतपेटिका ल्याउँदा टोलीमाथि आक्रमण भएको बताए ।

दुई मतदान केन्द्रमा मतदान स्थगित

उनका अनुसार हुम्लामा दुई मतदान केन्द्रको मतदान स्थगित भएको छ । जिल्लाको सर्केगाड गाउँपालिका–७ को कोट माध्यमिक विद्यालय रोडीकोट मतदान केन्द्रमा दलका कार्यकर्ताबीच लफडा भएपछि मतदान स्थगित भएको छ ।

अपरान्ह चार बजेतिर लफडा भएको हो । यस्तै खार्पुनाथ गाउँपालिकाको मालिका माध्यमिक विद्यालय लालीमा दिउँसोदेखि मतदान भएको छैन । मतदान केन्द्रमाथिबाट ढुंगामुढा भएपछि त्यहाँ लफडा भएको हो ।

उनका अनुसार हुम्लामा दुई निर्वाचन अधिकृत घाइते भएका छन् । बिहानैदेखि विभिन्न स्थानमा झडप भएकाले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि सुर्खेतदेखि हेलिकप्टरबाट आर्मीको टोली खटाइएको छ । जिल्लाभर अहिलेसम्म ६५ प्रतिशत मत खसेको उनले बताए ।

प्रतिक्रिया