भोट हाल्न गाउँ फर्कनेको लर्को, एकैदिन ८४ हजारले छाडे काठमाडौं


काठमाडौं – स्थानीय तह निर्वाचनमा मतदान गर्न राजधानीबाट गाउँ फर्कनेको लर्को लागेको छ। निर्वाचन संघारमै आइपुग्दा काठमाडौं उपत्यकाबाट बाक्लो संख्यामा सवारी साधनहरु बाहिरिएका छन् ।

तुलनात्मक रुपमा उपत्यका भित्रिने सवारी साधनको संख्या भने कम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। चुनावकै लागि विभिन्न राजनीतिक दलहरुले गाडी पठाएरै काठमाडौं उपत्यकाबाट मतदाता ओसारिरहेका छन् ।

बुधबारदेखि नै विभिन्न जिल्लाबाट दलहरुले आफ्ना मतदाताहरुलाई फर्काउन सवारी साधन पठाइरहेका छन्। बुधबार कोटेश्वर र नयाँ बसपार्कमा गाउँ फर्कने यात्रुहरुको भिड लागेको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवलदार मेखराज खत्रीका अनुसार चौबिस घन्टाको अवधिमा ८३ हजार ६६० जनाले काठमाडौं छाडेका छन् ।

यो विवरण बुधबार बिहान ५ बजेदेखि बिहीबार बिहान ५ बजेसम्मको हो । ‘आजको विवरण भोलिमात्रै आउँछ,’ उनले भने। चौबिस घन्टाकै अवधिमा ११ हजार २३३ सवारी साधन काठमाडौंबाट बाहिरिएका छन्।

काठमाडौं भित्रिनेको संख्या ३५ हजार ६७५ रहेको छ । सोही अवधिमाभरी कुल नौ हजार २२१ सवारी काठमाडौं भित्रिएको खत्रीले जानकारी दिए।

प्रतिक्रिया