चुनावका बेला राति रेस्टुराँ नखोल्न र मदिरा नबेच्न राजनीतिक दलको आग्रह


बाग्लुङ – चुनावका बेला अवाञ्छित क्रियाकलाप नहोस् भनेर बागलुङका राजनीतिक दलले राति अबेरसम्म रेस्टुराँ नखोल्न र मदिरा नबेच्न व्यवसायीसामु आग्रह गरेका छन् ।

गलकोट नगरपालिका–७ मल्मको वाम-लोकतान्त्रिक गठबन्धन दलको संयन्त्रले बैठकबाटै निर्णय गरी सार्वजनिक रूपमा अपिल गरेको हो ।

‘राति ९ बजेपछि वडाभित्र सञ्चालित रेस्टुराँको सेवा बन्द गर्न र मदिराजन्य वस्तु नबेच्न आग्रह गरेका छौं,’ संयन्त्रका सदस्य एवं नेकपा माओवादी केन्द्र वडा समितिका अध्यक्ष ललित मरासिनीले भने ।

मत प्रभावित पार्ने गरी गलत चलखेल हुन नदिन र घरगाउँमा शान्ति कायम राख्न राजनीतिक दलहरू आफैंले पनि भूमिका खेल्नुपर्ने उनको भनाइ छ । अध्यक्ष मरासिनीले आफ्नो पार्टीका चुनावलक्षित भेटघाट र घरदैलो अभियानलाई पनि बिहानदेखि साँझसम्म मात्र चलाउन जोड दिइएको बताए ।

राति ढिलोसम्म होटल, रेस्टुराँमा बसेर बैठक/छलफल चलाउँदा खर्चिलो पनि हुने र अर्कातिर कसैले मदिरा सेवन गरिहालेमा अप्रिय घटना हुनसक्नेतर्फ सबै पक्ष सचेत हुनुपर्ने उनले उल्लेख गरे ।

मल्ममा ३ दलको वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धन दलको संयन्त्र गठन गरेर चुनाव परिचालनलाई गति दिइएको छ । सम्बन्धित दल र उम्मेदवारहरुले मतदाता भेटघाट तथा घरदैलो अभियान थालेका छन् ।

प्रतिक्रिया