गभर्नरमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन राष्ट्र बैंकका कर्मचारीहरुको माग


काठमाडौं –  सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीहरुले गभर्नर अधिकारीमाथि कारबाहीको विरोधस्वरुप आज राष्ट्र बैंकमा कोण सभा आयोजना गरेका हुन्।

कर्मचारीहरूले राष्ट्र बैंकको स्वायत्ततामाथि नांगो हस्तक्षेप बन्द गर्नुपर्ने, गभर्नर अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् ।  कर्मचारीहरुले विरोधस्वरुप राष्ट्र बैंकको केन्द्रीय कार्यालयलगायत उपत्यकाबाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ कालो ब्यानर झुन्डाएका छन्।

ब्यानरमा केन्द्रीय बैंकको स्वयत्ततामाथिको नाङ्गो हस्तक्षेप बन्द गर्न, निराधार तथा कपोकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर्न र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ।

सभामा नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले गभर्नर अधिकारीमाथि गरिएको कारबाही फिर्ता गर्न सरकारसँग माग गरे। कारबाही फिर्ता नभए आन्दोलनका थप कार्यक्रमहरु बाध्य हुने चेतावनी पनि उनले बताए।

 

प्रतिक्रिया