नगद मार्जिन तोकेका वस्तुको एलसी तत्काल नखुल्ने, बजारमा सुनको अभाव


काठमाडौं – नेपाल बैंकर्स संघले आगामी एक सातासम्मका लागि  अत्यावश्यकबाहेक अन्य वस्तुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । अर्थतन्त्र थप जोखिममा परेपछि विलासिताका वस्तु आयातका एलसी नखोल्न संघले निर्णय गरेको हो । राष्ट्र बैंकले गत सोमबार बैंकका सीइओलाई बोलाएर गाडी सहितका बिलासिताको वस्तुको एलसी रोक्न मौखिक निर्देशन दिएको थियो ।

उक्त निर्देशन अनुसार नगद मार्जिन तोकेका ४७ समुहका वस्तुको एलसी तत्काललाई नखुल्ने भएका हुन् । जसमा नगद मार्जिन तोकेका चिनी, चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामाग्री, स्याम्पु, कपालमा लगाउने तेल, गाडी तथा मोटरसाइकल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छा कोठाका सामाग्री, सुनचाँदी लगायत पर्छन् ।

सुनको एलसी रोक्दा विवाहको मुख्य सिजनमै बजारमा काचो सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । राष्ट्र बैंकले एलसी वस्तु आयातको बैंक ग्यारेण्टी नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको र अहिले बजारमा काँचो सुनको मौज्दात सकिएको हो ।

एसोसिएसनकाअनुसार २२ वटा वाणिज्य बैंकले दैनिक पालो- पालो कोटाको सुन आयात गर्ने गरेका थिए । बजारमा नयाँ गहना बनाउने सुन अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले पुष्टि गरेको छ ।  बैंकहरुलाई सुन लगायतका वस्तुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशनपछि सुनको आयात ठप्प भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

उनले अहिले ठ्याक्कै यतिकै मात्रामा सुन स्टक छ भन्न सकिने स्थिति नरहेको बताए । तर, १५ दिनसम्म सुन आयात नभएपनि बजारको मागलाई धान्न सकिने अनुमान रहेको उनको भनाई रहेको छ । गत महिना नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न सकिने सुनको परिमाण २० किलोबाट झारेर १० किलोमा पुर्याएको थियो ।

प्रतिक्रिया