बैंकका रक्षागार्डकै कोठाबाट बन्दुकसहितका सामान चोरी


राजविराज- सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित नेपाल बैंक लिमिटेडको शाखामा कार्यरत सुरक्षागार्डकै कोठाबाट बिहीबार राति हतियारसहितका सामग्री चोरी भएको छ।

चोरीमा परेका सुरक्षागार्डहरू शम्भुनाथ नगरपालिका–७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र वडा नम्बर ५ का ४४ वर्षीय पर्शुराम चौधरी हुन्। उनीहरू सुतिरहेकै बेला दराज फोरेर १२ बोरको एकनाले हतियार, त्यसमा प्रयोग हुने २० राउन्ड गोली, दुई थान मोबाइल र डिजिटल तराजु चोरी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

घटनाबारे बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय कल्याणपुरमा सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानकै क्रममा पौने ४ बजेतिर सिराहाको लहान नगरपालिका–३ हस्पिटल चोकबाट एक युवकलाई चोरीका समानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने व्यक्ति खडक नगरपालिका–६ विसनपुरका २० वर्षीय अपसाद अन्सारी हुन्। उनको साथबाट प्रहरीले ल्यापटप, कम्प्युटर स्क्यानर, दुई/दुई थान खुकुरी र घडी, पाँच थान मोबाइल, सिमकार्ड, स्पिकर, डिजिटल तराजु र १२ बोरको हतियारमा प्रयोग हुने २० राउन्ड गोली बरामद गरेको हो।

एसपी खतिवडाका अनुसार अन्सारीले चोरी गरेको १२ बोरको एकनाले हतियार बैंक भवनदेखि करिब ५ सय मिटर पश्चिमतर्फको झाडीमा लुकाएको बताएको छ, जुन पनि प्रहरीले बरामद गरिसकेको छ।

हाल अन्सारीलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखी थप अनुसन्धान भइरहेको छ।

 

 

प्रतिक्रिया