

तीनकुने झडपकाे अनुसन्धान प्रतिवेदन बुझाइयो, ६१ जनाविरुद्ध आइतबार मुद्दा दर्ता हुँदै

काठमाडौं— गत चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक झडपसँग सम्बन्धित अनुसन्धान पूरा गरी प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। आइतबार ६१ जनाविरुद्ध चारवटा संगीन अभियोगसहित मुद्दा दर्ता गरिने तयारी भएको छ।
तीनकुनेमा राजसंस्था पुनःस्थापनाको मागसहित भएको प्रदर्शन आगजनी, तोडफोड र लुटपाटमा परिणत भएको थियो। घटनामा दुई जनाको ज्यान गएको थियो भने सयभन्दा बढी घाइते भएका थिए।
प्रहरीको सिफारिसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईंसहित ६१ जनालाई प्रतिवादी बनाइएको छ।
उनीहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध र ज्यान मार्ने उद्योगका चारवटा मुद्दा लाग्ने तयारी भएको सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिए।
जिल्ला प्रहरी परिसर, काठमाडौंले सो घटनाबारे लामो अनुसन्धान चलाउँदै आएको थियो। हालसम्म १७० जनाभन्दा बढी पक्राउ परेका छन्, जसमध्ये ५३ जना अझै प्रहरी हिरासतमा छन्। उनीहरूका लागि बिहीबार मात्रै दुई दिनको म्याद थपिएको छ।

