

काठमाडौंका होटल–रेस्टुरेन्ट अब राति ११ बजेसम्म खुला रहने

काठमाडौं — काठमाडौं उपत्यकामा सञ्चालित होटल तथा रेस्टुरेन्टले अब राति ११ बजेसम्म सेवा सञ्चालन गर्न पाउने भएका छन्। लामो समयदेखि होटल व्यवसायीहरूद्वारा उठाइएको मागलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा समय एक घण्टाले लम्ब्याउने निर्णय गरेको हो।
जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार यो निर्णय सुरक्षा अवस्था, पर्यटकीय सहजता र व्यवसायमैत्री वातावरण कायम राख्ने उद्देश्यले गरिएको हो।
होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले प्रहरीको सिटी फुकाइका कारण समयभन्दा चाँडो व्यवसाय बन्द गर्नु परिरहेको गुनासो गर्दै प्रशासनसँग निरन्तर संवाद हुँदै आएको बताए। ‘हामीले सुरुमा रातभर सञ्चालनको माग गरेका थियौं, नभए कम्तीमा राति १२ बजेसम्म अनुमति दिन अनुरोध गरेका थियौं। अहिलेको निर्णय तत्कालका लागि राहतको विषय हो,’ उनले भने।

