

गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं- भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै उनीमाथि कारबाहीको मागसहित प्रधानमन्त्री कार्यालयमा औपचारिक उजुरी दर्ता गरिएको छ।
सिन्धुलीका सामाजिक अभियन्ता युवराज सफलले प्रधानमन्त्रीको निजी सचिवालयमा उजुरी (दर्ता नं. ८४३६) दर्ता गराउँदै गृहमन्त्री लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र अन्य सम्बन्धित व्यक्तिहरूमाथि निलम्बन गरी कानुनी प्रक्रिया अघि बढाउन माग गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा देखिएको व्यापक भ्रष्ट्राचार, घुससहितको भिजिट भिसा व्यापारमा गृहमन्त्रीका सचिवालयका कर्मचारी, स्वकीय सचिव तथा विभागीय अधिकारीहरूको मिलेमतो रहेको उजुरीमा उल्लेख छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको मोबाइल फरेन्सिक परीक्षणका लागि लिँदै छानबिन तीव्र बनाएको छ। आयोगले दैनिक रूपमा ५० हजारदेखि ३ लाखसम्म असुली गरेर गृहमन्त्रीसम्म रकम बाँडफाँट हुने गरेको दाबीसमेत गरेको छ।

