मधेशका माग पूरा हुनेमा विश्वस्त छौं : महन्थ ठाकुर


बुटवल – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारले आफ्ना माग पूरा गर्नेमा विश्वस्त रहेको बताएका छन् । आफूले उठाएका मागबारे वर्तमान सरकारले आश्वासन दिएकाले सकारात्मक परिणाम आउनेमा विश्वस्त रहेको उनले बताए ।

पार्टीको जिल्ला समिति पश्चिम नवलपरासीले मंगलवार गेर्मीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले माग सम्बोधन हुने बताएका हुन् । ‘हाम्रा माग नयाँ होइनन्, अहिलेको सरकारसँग कार्यान्वयनका लागि कार्यदल बनाएर पठाएका छौं । प्रधानमन्त्रीज्यूले माग पूरा हुन्छ भनेर आश्वासन दिनुभएको छ । सकारात्मक परिणाम आउनेमा विश्वस्त छौं,’ ठाकुरले भने ।

संविधान संशोधन, झूटा मुद्दा खारेजी, बन्दी रिहाइ लगायतका माग पुरानै रहेका उनले बताए । हरेक सरकारसँग एउटै विषयमा गरेको सम्झौताको पन्नाले किताब नै बनिसकेकाले अब उधारोमा होइन नगदमा सम्झौता हुने उनले बताए ।

स्थानीय निर्वाचनमा पार्टीको सहभागिता र गठबन्धनको सम्भावनाबारे धारणा सुन्न पुगेका कार्यकर्ताले भने अध्यक्षबाट धारणा सुन्न पाएनन् । निर्वाचन सम्बन्धी कुरै नउठाएका अध्यक्ष ठाकुरले सबै समय नागरिकता र मधेशका समस्याबारे खर्चेका थिए ।

वरिष्ठ नेता राजेन्द्र महतोले मधेश आन्दोलनको पहिलो लडाइँ स्थानीय निर्वाचन भएकाले त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया