अध्यक्ष नेपाल भन्छन् – पार्टीका सबै शक्ति चुनावमा केन्द्रित गर्नुपर्छ
काठमाडाैं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी चुनावमा केन्द्रित गर्नुपर्ने बताएका छन्।
पार्टीको केन्द्रीय प्रचार विभागले बुधवार जिल्ला अध्यक्षहरूसँग गरेको अन्तक्रियामा अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिलेदेखि नै प्रदेश, जिल्ला, वडा तहसम्म संगठन सुदृढीकरण गरी मतदाताका घरघरमा पार्टीले अवलम्बन गरेको विचार आदर्शलाई पुर्याउनु पर्नेमा जोड दिए ।
महासचिव डा. बेदुराम भुसालले मुलुकमा संविधान र राजनीतिक प्रणालीको संरक्षण गर्न तत्कालीन नेकपा एमालेबाट विद्रोह गरी स्थापना गरिएको पार्टी जनतालाई सामाजिक न्याय, समानताका लागि क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे ।
पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केन्द्रीय प्रचार विभागले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सीमित स्रोत र साधनबाट विभिन्न चुनावी प्रचार सामग्री उत्पादन गरेको बताउँदै प्रदेश, जिल्ला कमिटीले गठन गरेको प्रचार विभागलाई केन्द्रले समन्वय गर्ने बताए ।
प्रचार विभाग उपप्रमुख एवं समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठले आफ्नो संस्थाले हालसम्म ४० जिल्लामा संगठन विस्तार गरेको जानकारी दिँदै बाँकी स्थानमा पार्टीसँग समन्वय गरी गठन गरिने र प्रदेशस्तरीय भेला छिट्टै गरिने बताए ।