नेपालमा तथ्यांक कोरोनाः यी ११ जिल्ला, जहाँ छैनन् कोरोना संक्रमित


काठमाडौं – विश्वभर ४८ करोड जना मानिसमा संक्रमण र साढे ६१ लाख बढीको ज्यान लिइसकेको कोभिड–१९ पछिल्ला दिनमा विस्तारै प्रभाव कम पर्दै गएको देखिएको छ ।

विश्वसँगसँगै नेपाल पनि अछुतो रहन नसेको कोभिड–१९ बाट नेपालमा हालसम्म ९ लाख ७८ हजार ३३२ जनालाई संक्रमण पुष्टी भइसकेको तथ्यांक सार्वजनिक भएको छ भने ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालमा संक्रमित मध्ये ९ लाख ६४ हजार ८ सय २३ जनाले कोरोनाविरुद्ध जित हात पारिसकेका छन् । अहिलेको अवस्थामा नेपालमा १ हजार ५५८ जना सक्रिय संक्रमित रहेको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।

अहिले कोभिड संक्रमण संख्याको आधारमा विश्वको ६० औं स्थानमा छ भने कोभिडबाट ज्यान गुमाउने संख्याको आधारमा भने ५८ औं स्थानमा रहेको छ ।

पछिल्ला दिनमा नेपालमा नयाँ संक्रमितको संख्या ज्यादै न्यून रुपमा देखिएको छ । नेपालका ७७ जिल्लामध्ये अहिले ११ जिल्ला संक्रमणमुक्त रहेका छन् भने २ सय भन्दा बढी संक्रमित कुनै जिल्लामा पनि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ नम्बर प्रदेशको धनकुटा र संखुवासभामा अहिलेको अवस्थामा संक्रमित रहेका छैनन् । त्यस्तै मधेश प्रदेशमा भने शुन्य संक्रमित संख्या रहेको जिल्ला छैन भने बागमती प्रदेशको रामेछापमा अहिलेको अवस्थामा कोरोना संक्रमित संख्या शुन्य छ । त्यस्तै गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा कोरोना संक्रमित संख्या छैनन् भने लुम्बिनी प्रदेशको रुकुम पूर्व शुन्य संक्रमित रहेको जिल्लाको रुपमा रहेको छ ।

त्यस्तै कर्णाली प्रदेशका तीन जिल्लाहरु जुम्ला, डोल्पा र हुम्ला जिल्ला संक्रमणमुक्त जिल्ला रहेका छन् भने सुदूरपश्चिमका कञ्चनपुर र बाजुरामा कोरोना संक्रमित रहेका छैनन् ।

राजधानी काठमाडौंमा भने हालसम्म ३ लाख २३ हजार ४७८ जना लाई संक्रमण पुष्टी भएकोमा ३ लाख २० हजार ९९५ जना निको भइसकेका छन् भने २ हजार ३ सय ४ जनाले ज्यान गुमाएका थिए । अहिलेको अवस्थामा काठमाडौं जिल्लामा १७९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ज्यान गुमाएका ११ हजार ९ सय ५१ मध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ५ हजार १ सय ६८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेशमा १ हजार ८ सय ६४ जनाले ज्यान गुमाएका छन् भने प्रदेश १ मा १ हजार ७ सय १६ र गण्डकी प्रदेशमा १ हजार ४ सय २५ जनाको मृत्यु भएको छ भने बाँकी ३ पदेश मधेश, कर्णाली र सुदूरपश्चिममा हजार भन्दा कम संख्यामा मृत्यु भएको छ । हालसम्म मधेशमा ७८५ ले ज्यान गुमाएका छन् भने सुदूरपश्चिममा ५ सय ९ र कर्णालीमा ४८४ जनाले कोरोनाकै कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा खोप अभियान सुरुभएदेखि अहिलेसम्म कूल ३ करोड ९७ लाख १६ हजनार ६७ सय ५८ मात्रा खोप लगाइसकिएको छ । ती मध्ये १ करोड ८७ लाख ३२ हजार २६९ ले एकमात्रा मात्र लगाएका छन् भने १ करोड ८९ लाख ३ हजार ५१८ पूर्णमात्रामा खोप लगाइएको पनि मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा कोरोनाविरुद्धको खोप आइसकेको पनि मन्त्रालये जनाएको छ ।

प्रतिक्रिया