आईजीको दौडमा चार एआईजी!

सुदुरपश्चिम प्रदेशका सिंह र धानुकलाई अगाडि ल्याउने प्रधानमन्त्री देउवाको तयारी


काठमाडौं – नेपाल प्रहरीमा प्रहरी अतिरक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थपिएको तीन सातापछि एआईजी बढुवा सिफारिस भएको छ। बसन्त पन्त, धीरज प्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।

मंगलबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले प्रहरी नायब महानिरीक्षक (डिआईजी)त्रय पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो।

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले एआईजी बढुवाको निर्णय गर्नेछ। मन्त्रिपरिषद् बैठकमार्फत यो सिफारिस सदर भए अब नेपाल प्रहरीमा जनपदतर्फ ८ जना एआईजी हुनेछन्।

आठ जनामध्येको आगामी नयाँ प्रहरी महानिरीक्षक (आईजी) को दौडमा चारजना एआईजी हुनेछन्। एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा, सिंह र धानुकबीच प्रतिस्पर्धा हुने भएको हो।

एआईजीमा सिफारिस भएका सिंह, धानुक, पोखरेल र थापा एउटै ब्याची हुन्। मन्त्रिपरिषद् बैठकले एक साताभित्र सिंह र धानुकलाई बढुवा गरे पोखरेल र थापासँगै आईजीको दौडमा सहभागी हुनेछन्।

पोखरेल र थापा भने यसअघि नै नेकपा एमालेको सरकारमा एआईजी भएका हुन्। नेपाल प्रहरीमा एआईजी र आईजी विशिष्ट श्रेणीका पद मानिन्छन्।

नयाँ आईजीले नै निर्वाचन सुरक्षाको कमान्ड गर्ने अवसर प्राप्त गर्नेछन्। यस्तोमा सरकारले जसलाई पनि आईजी नियुक्त गर्न सक्छ। प्रधानमन्त्रीले रुचाएको व्यक्ति नै प्रहरीमा आईजी बन्दै आएका छन्।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवा छन् भने उनकै पार्टीका बालकृष्ण खाँण गृहमन्त्री छन्। यस्तोमा प्रधानमन्त्री र गृहमन्त्रीले रुचाएको व्यक्ति आईजीपी बन्ने सम्भावना छ।

यता एआईजीमा सिफारिस भएका पन्त हालका आईजी शैलेश थापा क्षेत्रीका ब्याची हुन्। उनी आईजी थापासँगै ३० वर्षे सेवा अवधि पूरा गरेर १९ वैशाख २०७९ मा अवकाशमा जाँदैछन्। यस्तोमा उनी आईजीपीको दौडमा हुने छैनन्।

आईजी क्षेत्रीका ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले पनि १९ वैशाखदेखि अवकाश पाउनेछन्।

त्यस्तै एआईजीको दौडमा डिआईजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, घनश्याम अर्याल, वसन्त लामा, उत्तमराज सुवेदी र अरुणकुमार बीसी प्रतिस्पर्धामा थिए।

५ फागुनमा सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप्ने निर्णय गरेको थियो। सिंह र धानुक एआईजीमा बढुवा सिफारिस भएसँगै भावी नेतृत्वमा को आउला? यतिबेला सबैको चासोको विषय छ।

 

विश्वराज पोखरेल
पोखरेल २९ चैत, २०४९ देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका हुन्। पोखरेल प्रहरी उपरीक्षक (एसपी) बढुवासम्म आफ्नो ब्याचको पाँचौँ स्थानमा थिए।

त्यो बेलासम्म धीरज सिंह ब्याचको १ नम्बरमा थिए। तर, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवादेखि भने उनले फड्को मारेका हुन्। २९ साउन, २०७४ मा एसएसपीमा बढुवा भएका पोखरेल आफ्नो ब्याचको एक नम्बरमा पुगे।

हालका आईजी क्षत्रीको ब्याचसँगै बढुवा भएका पोखरेलले त्यो बेलासमेत अघिल्लो ब्याचकालाई पछि पारेका थिए। सडक दुर्घटनामा डिआईजी सुशील भण्डारीको मृत्यु भएपछि पोखरेल वैशाख २०७६ मा एकल डिआईजीमा बढुवा भए।

त्यसैको निरन्तरतामा १५ मंसिर २०७७ मा पोखरेल दरबन्दी थप गरेर एआईजी बढुवा सिफारिस भए। तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई बढुवा गर्नकै लागि एआईजीको दरबन्दी सिर्जना गरेको आरोप छ।

जतिबेला संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएन्डएम) को अध्ययनबिना नै एआईजीको दरबन्दी थप भएको थियो। प्रहरीमा दरबन्दी कटौती र थप गर्दा ओएन्डएम अनिवार्य मानिन्छ।

यसरी अस्वभाविक छलाङ मारेका पोखरेल शैलेश थापा क्षेत्रीपछि आईजीको प्रबल दाबेदार हुन्। तर, पोखरेललाई नेकपा एमालेको ट्याग लागेको छ।

अहिले सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन्। स्रोतका अनुसार देउवा र गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनमा आफूहरुलाई असहयोग हुने डरले पोखरेललाई आईजी बनाउन चाहेका छैनन्।

 

सहकुल थापा
थापा पनि पोखरेलकै ब्याची हुन्। एआईजी थापा पनि आईजी बन्नको लागि चर्को लबिङ गरिरहेका छन्।

डिआईजीसम्म थापा भर्खरै एआईजीमा बढुवा सिफारिस भएका सिंह र धानुकसँगै प्रमोशन भएका हुन्। थापा यसअघि थपिएको दरबन्दीमा बढुवा भएर एआईजी बन्न सफल भएका हुन्।

थापाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र अपराध महाशाखाको प्रमुखका रुपमा काम गरिसकेका छन्। त्यस्तै काभ्रेलगायतका जिल्लाको पनि प्रमुख भएर काम गरेको अनुभव छ।

 

धीरज प्रताप सिंह
सिंह पनि पोखरेलकै ब्याची हुन्। एसपीसम्म १ नम्बरमा रहेका सिंह एसएसपी बढुवामा समेत उनी शीर्ष ३ भित्रै पर्थे। प्रहरीमा उनलाई काबिल प्रहरी अधिकृतको रुपमा हेरिन्छ।

सुदुरपश्चिम घर भएका सिंहलाई प्रधानमन्त्री देउवाले आईजी बनाउन चाहेका छन्। देउवाले आफ्नो क्षेत्रकालाई निकै संरक्षण गर्ने गर्छन्। विगतमा जयबहादुर चन्दलाई आईजी बनाउन देउवाले ठूलै संघर्ष गरेका थिए। त्यतिबेला उनी डिआईजी हुँदा तेस्रो बरियतामा थिए।

हुनतः सिंह पनि यतिबेला तेस्रो बरियतामा नै छन्। स्थानीय निकायको चुनाव ३० वैशाखमा हुने भएकाले अब हुने आईजीको कार्यकाल महत्वपूर्ण हुनेछ।

यसकारण पनि आईजीमा देउवाले आफूले चाहेको एआईजीलाई अगाडि बढाउन सक्ने अनुमान गर्न सकिन्छ। सिंह यसकारण पनि उत्साहित रहेको बुझिएको छ। उनलाई बालुवाटारबाट ‘ग्रिन सिग्नल’ पुगिसकेको विश्वस्त स्रोतले जनाएको छ।

हाल सिआईबी प्रमुख रहेका सिंहले यसअघि डिआईजी हुँदा मधेश प्रदेशको सफल कमाण्ड गरिसकेका छन्। त्यस्तै उनले महानगरीय अपराध महाशाखामा समेत राम्रो काम गरेका थिए।

त्यहिकारण पनि सिंहलाई देउवाको बलियो साथ रहेको बुझिन्छ।

 

रवीन्द्र धानुक
धानुक पनि पोरखेलकै ब्याची हुन्। नेपाल प्रहरीमा धानुक भाग्यमानी प्रहरी अधिकृत हुन्। जसले काठमाडौं उपत्यकाको दुईवटा जिल्लाको नेतृत्व सम्हाल्ने अवसर पाएका प्रहरी अधिकृत हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरको जिम्मेवारी सम्हालेका धानुक पनि सुदुरपश्चिम प्रदेशकै हुन्। प्रहरीले सञ्चालन गर्ने अप्रेशनहरुमा धानुक ‘अब्बल’ प्रहरी अधिकारीको रुपमा परिचित छन्।

विभिन्न जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी लिएर काम गरिसेका धानुक हाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको कार्य विभागमा कार्यरत छन्।

आईजीको दाबेदार रहेका धानुकलाई प्रधानमन्त्री देउवाको समेत साथ रहेको बताइन्छ। सिंह र धानुकमध्ये एक जनालाई प्रधानमन्त्रीले आईजी बनाउन खोजेको बालुवाटार स्रोतले बतायो।

उनले काठमाडौं र ललितपुरसँगै रुपन्देही, सर्लाही, काभ्रे, रुकुम, मुगु, दार्चुला, कञ्चनपुर, दिपायल तालिम केन्द्र, नेपालगञ्ज तालिम केन्द्र र केही समय अगाडि लुम्बिनी प्रदेश प्रहरी प्रमुखको नेतृत्व समेत गरिसकेको अनुभव छ।

प्रतिक्रिया