

बलात्कार घटनाका आरोपित अभिनेता पल शाहलाई गैंडाकोट पुर्याइयो

काठमाडौं – नाबालिगलाई जबरजस्ती करणी गरेका आरोपित अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको छ । मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । बलात्कारको जाहेरी तनहुँ प्रहरीमा दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दिएकाले बयानका लागि त्यहाँ पुर्याइएको हो ।
यो मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी दिलिप गिरीले जानकारी दिए । शाहविरुद्ध गत फागुन १६ गते किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् ।
बलात्कार मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो । गैंडाकोटमा गीत छायाङ्कनका क्रममा गत वर्ष चैत ७ गते एक रिसोर्टमा राखेर आफूलाई बलात्कार गरेको किशोरीले किटानी जाहेरी दिएकी छन । बलात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ ।

