

हरियो रङको मतपत्रप्रति ओलीको आपत्ति

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि मतपत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका हुन् । कुन आधारमा त्यो राखिएको भन्दै ओलीले सच्याउनुपर्ने बताए ।
‘मैले सुनेको छु, चुनाव चिह्न हरियो राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उनले भने, ‘किन हरियो राख्ने ? रुखैरुख देखियोस् भनेर ? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’
एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग गरिएको भन्दै उनले एमालेविरुद्ध गरिएका कार्य सच्याउन अध्यादेशबाट पनि सकिने बताए ।

