

व्यवसायीले ग्याँस र पेट्रोलको बिक्री रोक्ने, कमिसनको माग राख्दै सरकारलाई दिए यस्तो चेतावनी

काठमाडौं – पेट्रोलियम कारोबार गर्ने तीन वटै निजी क्षेत्रका संस्थाले ढुवानीदेखि बिक्रीसम्मको कारोबार ठप्प पार्ने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । व्यवसायीले पाउँदै आएको कमिसन निगम सञ्चालक समितिले कटौती गरेको भन्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघ आन्दोलित भएका हुन् ।
दिनहुँजसो बढीरहेको पेटोलियम पदार्थको मुल्यका कारण आफुहरु आजित भएपनि सम्वधित पक्षले सम्वोधन नगर्दा आफुहरु वाध्य भएर आन्दोलनमा जानु परेको जनाएका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष छ बुँदे मागपत्र पेश गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।
समितिले नेपाल आयल निगमसमक्ष मागपत्र पुनः पेश गरेको छ र सो माग पूरा नभए चैत ५ गतेबाट आन्दोलन गर्ने जनाएको छ । व्यवसायीले घोषणा गरेको आन्दोलन अन्तर्गत चैत ६ गते ग्याँस उद्योगीले निगमबाट ग्याँस खरिदको अग्रिम अनुमति नलिने, चैत १० गतेदेखि रिफाइनरीबाट ग्याँस ढुवानी रोक्ने र १४ गतेबाट ग्याँसको भन्सार नछुटाउने जस्ता कार्यक्रमहरु छन् । यस्तै चैत १६ गतेबाट राज्यभरका पेट्रोलियम पदार्थको ढ्वानी टैंकरहरुले पिडिओ नलिने भनिएको छ ।
समितिले चैत १७ गतेबाट देशभरका एलपी ग्याँस उद्योगहरुबाट विक्रेताहरुलाई बिक्री बितरण बन्द गर्ने, चैत १८ गतेबाट पेट्रोलियम ढुवानी टैंकरहरुले लोडिङ अनलोडिङ्ग बन्द गर्ने तथा बिक्रेताहरुले निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद बन्द गर्ने जनाइएको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत चैत २० गतेबाट उल्लेखित मागहरु पूरा नभएसम्म देशैभरी एलपी ग्यास उद्योग, ग्याँस बिक्रेताहरुले ग्याँस र पेट्रोलियम ढुवानी टैंकरहरुले ढुवानी कार्य बन्द गर्ने जानकारी दिईएको छ ।

