
कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?
काठमाडौं – अबदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले दर्जनौं सडक र पुल बगाएपछि सरकारले नागढुंगा प्रयोगलाई नि:शुल्क बनाएको थियो । तर कात्तिक १५ गतेदेखि भने शुल्क तिर्नुपर्ने भएको छ ।
नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आइतबारदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले बिहीबार सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर संकलन गर्ने भएको जनाएको छ ।
सडक बोर्डको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम उक्त शुल्क संकलन सुरु गर्न लागिएको आयोजनाले जनाएको छ ।
सूचनाअनुसार सवारीसाधनलाई चार वर्गमा वर्गीकरण गरी काठमाडौँ प्रवेश गर्ने र काठमाडौँबाट प्रस्थान गर्ने सवारीका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ । (कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारी) काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ६० रुपैयाँ लिने निर्णय गरेको छ ।
(मिनी बस, मिनी टिपर ट्रक) काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ८० रुपैयाँ लिने छ । (बस तथा सिंगल रियर एक्सेल भएका ट्रक) काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा २०० लिने भएको छ ।
मल्टी एक्सेल ट्रक सवारीसाधन र भारी उपकरण काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा २५० लिने भएको छ । जापान सरकारको आर्थिक सहयोगमा नागढुंगा सुरुङमार्ग तयार भएको हो ।



कागजपत्र |
