

एकैदिन २००० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोवार ?

काठमाडौं – आईतबार नेपाली बाजारमा पहेलो धातु सुनको मूल्य ह्वत्तै बढेको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २००० रुपैयाँले बढेको हो । गत शुक्रबार प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला एक लाख १ हजार ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार प्रतितोला ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार हुने भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १९७४ डलर हाराहारीमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा असर परेको महासङ्घले जनाएको छ । युक्रेनमाथि रुसको आक्रमणलाई लिएर अमेरिका, बेलायत लगायत राष्ट्रसँग रुसको विवाद बढ्दा सुनको मूल्य बढ्न गएको हो ।

