

चार महिनामै ४ लाखले खोले डिम्याट खाता, खातामा ८ अर्ब २० करोड जम्मा

काठमाडौं – चालू आर्थिक वर्षको बितेका पछिल्लो चार महिनामा मात्र थप ४ लाख जनाले डिम्याट खाता खोलेका छन् । गत कात्तिकको तेस्रो सातासम्म कुल ४६ लाखले यस्तो खाता खोलेका थिए । यससंगै सेयर बजार लगानीका लागि अनिवार्य बनेको हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या ५० लाख नाघेको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मंगलबारसम्म ५० लाख ७ हजार २ सय ४२ जनाले डिम्याट खाता खोलेका छन् । यस्तै मेरो सेयर खाता खोल्नेको संख्या ४१ लाख १९ हजार २१ पुगेको छ।गत असार मसान्तसम्म कुल २८ लाख ५५ हजार रहेको मेरो सेयरको संख्या बढेर यो अवधिमा ४१ लाख १९ हजारभन्दा बढी रहेको छ ।
यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा सहज बनाउन तथा सेयरको अभिलेखीकरण कार्य गर्न निक्षेप सदस्यका रूपमा सेवा प्रवाह गर्ने सदस्यको संख्या गत आवको अन्त्यमा ७८ रहेकामा अहिले बढेर ८२ पुगेको सीडीएससीले जनाएको छ । सेयर बजारमा धितोपत्रको कारोबारका साथै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को आवेदनमा समेत डिम्याट खाता अनिवार्य भएकाले यस्ता खाता खोल्ने क्रम बढेको धितोपत्र बोर्डको बुझाइ छ ।
यस्तै हालसम्म ८ अर्ब २० करोड ३८ लाख २३ हजार८८२ कित्ता सेयर विभिन्न व्यक्तिका डीम्याट खातामा जम्मा भएको छ। पुँजी बजार प्रविधिमैत्री भएपछि आमलगानीकर्ताको आकर्षण बढ्न थालेको हो। धितोपत्र बजारमा धितोपत्रको कारोबारका साथै आइपीओको आवेदनमा डिम्याट खाता अनिवार्य बनाइएको छ। जसका कारण खाता खोल्नेको संख्या बढेको हो। डीम्याट खाता नभएकाहरुले दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन्।
के हो डिम्याट खाता ?
सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग शेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैङ्कमा रहेको डिम्याट खातामा हुन्छ । यसो भएपछि शेयर खरीदविक्री गर्न सहज हुन्छ, खरीदविक्रीको साफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस सेयर तथा हकप्रद सेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले, त्यस्तो सेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन ।
कसरी खोल्ने डिम्याट खाता ?
डिम्याट खाता खोल्न सबैभन्दा पहिले लगानीकर्ताको एउटा फोटो र नागरिकताको प्रतिलिपि लिएर डिम्याट खाता खोल्ने कुनै (डीपी)मा जानुपर्छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीडीएस एण्ड क्लियरिङ कम्पनीको सदस्यता लिएका बैङ्क, वित्तीय संस्था, मर्चेण्ट बैङ्कर वा ब्रोकर कम्पनीले निश्चित मापदण्ड पूरा गरी निक्षेप सदस्य (डीपी)को काम गर्ने गर्छन् ।

