गरगहना बनाउने विषयमा विवाद, व्यवसायीले विरोधीलाई सुंगुरको खोरमा थुने


वीरगन्ज-  सर्लाहीको पर्सा गाउँपालिका-५ मा विवाहको गरगहना निर्माणलाई लिएर सुरु भएको विवादले अप्रत्याशित मोड लिँदै मानवअधिकार उल्लङ्घनको घटना बनेकाे छ। सुनचाँदी व्यवसायी राजेन्द्र साह सोनारले तश्लिम अंसारीलाई सुंगुरको खोरमा थुनेर कुटपिट गरेको घटना बाहिरिएकाे हाे।

तश्लिम अंसारीको छोरीको विवाहका लागि गरगहना बनाउने विषयलाई लिएर राजेन्द्र साह सोनार र अंसारीबीच गत शनिवार बिहान विवाद भएकाे थियाे। अंसारीले पहिले नै गरगहना बनाइसकेको बताए पनि, सोनारले आफ्नो पसलबाट मात्रै गरगहना बनाइने बताउँदै समस्या सिर्जना गरे। थप रूपमा, सोनारले अंसारीको सम्धीले आफूलाई गरगहना बनाउन पठाएको झुठो दाबी गरेका थिए, जसले विवाद झन बिगारेको छ।

यस विवादको क्रममा शनिबार पर्सा गाउँमा पञ्चायत बसेको थियो, जहाँ दुई पक्षबीच झगडा भयो र अंसारीले सोनारमाथि पहिले हात हालेको आरोप पनि उब्जियो। तर, साँझ तिर सोनारका केही सहयोगीहरूले अंसारीलाई जबरजस्ती सुंगुरको खोरमा लगेर कुटपिट गरे। यो अमानवीय कार्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालयले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमा राजेन्द्र साह सोनार, उनका छोरा कमलेश साह सोनार, पप्पु कुमार यादव, राहुल कुमार महतो, र अंसारी परिवारका सदस्यहरू रहेका छन्।

पीडितका छोरा कौशर अंसारीले भने, “सुंगुरको खोरमा थुनिएर कुटपिट हुनु हाम्रो लागि ठूलो अपमान हो, यसले हाम्रो समुदायलाई पनि गहिरो चोट पुर्‍यायो।”

प्रहरीको अनुसन्धान जारी छ र थप पक्राउ र कानुनी प्रक्रिया अघि बढाउने तयारीमा छ।

प्रतिक्रिया