देउवापुत्र जयवीरले हिल्टन होटल किनेको हल्ला झुटो


काठमाडौं – काठमाडौंको नक्सालस्थित पाँचतारे हिल्टन होटल बिक्री भएको भन्ने भ्रामक समाचारप्रति शंकर समूहले गम्भीर आपत्ति जनाउँदै खण्डन गरेको छ।

हालै केही सञ्चार माध्यममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणाका छोरा जयवीर सिंह देउवाले हिल्टन होटल खरिद गरेको भन्ने समाचार प्रकाशित भएपछि होटल संचालक जगदम्बा हस्पिटालिटी ग्रुप र शंकर समूहले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त दावी निराधार र भ्रामक भएको प्रष्ट पारेका छन्।

हिल्टन होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले पनि यस्ता समाचारको खण्डन गर्दै भने, “हामीले अहिले कुनै नयाँ लगानीकर्ता भित्र्याएका छैनौं। संस्थापक र स्वामित्वमा कुनै परिवर्तन भएको छैन।”

होटलले यस्ता दुष्प्रचारविरुद्ध प्रचलित कानुनअनुसार कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिएको छ।

शंकर र जगदम्बा हस्पिटालिटी ग्रुपका अनुसार, होटल हाल पब्लिक कम्पनीमा रूपान्तरण भइसकेको छ र छिट्टै सर्वसाधारणका लागि सेयर निष्कासनको तयारी भइरहेको छ।

२०८१ साउनदेखि सञ्चालनमा आएको नक्सालस्थित यो होटल करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ र यसको भवन १७ तल्ले रहेको छ।

प्रतिक्रिया