स्थानीय तह निर्वाचनका लागि एमालेद्वारा आयोगमा दल दर्ता


काठमाडौं – स्थानीय तह निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले शुक्रबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो ।

यसअघि निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नका लागि गरेको आह्वानअनुसार दर्ता गरिएको महासचिव पोखरेलले बताए । सरकारको वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने निर्णयसँगै पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै महासचिव पोखरेलले अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरे ।

यसैबीच, निर्वाचन आयोगले शुक्रबार (आज) दिउँसोसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ । अहिलेको अवस्थामा आयोगमा १०९ वटा दल दर्ता भएको र यही फागुन १५ गते भित्र आयोगमा दर्ता भएको दलहरुले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया