आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री शर्मा


काठमाडाैं – अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको प्रभाव कम हुँदै गएकाले चालू आर्थिक वर्ष २०७८/७९ मा राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताएका छन् । सरकारले चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ ।

अर्थ मन्त्रालयमा बिहीवार चालू आवको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको असर क्रमशः निस्तेज हुँदै गएको तथा आर्थिक क्रियाकलाप विस्तार भएकाले आर्थिक वृद्धिको लक्ष्य पूरा हुने बताए ।

बजेटको आकारमा केही संशोधन गरिएको भए पनि आर्थिक वृद्धिको लक्ष्य र राजस्व संकलन भने तोकिएअनुसार नै हुने उनले विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले खर्च प्रणालीमा गुणात्मक सुधार तथा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तह, प्रदेश र संघले गर्ने कार्यक्रमको दोहोरोपन हुनु नदिने गरी प्रक्रिया अगाडि बढाइने बताए । ‘योजनाको निश्चित मापदण्ड तथा आधार वा परिभाषा बनाएर योजना वा कार्यक्रम तय गर्नुपर्छ । संघले यस्तो योजना गर्ने, प्रदेशले र स्थानीय तहले यी काम गर्ने भनेर स्पष्ट मापदण्ड तयार गर्नुपर्ने बेला आएको महसूस भएको छ।’

उनले भने, ‘त्यसो नहुँदा दोहोरिने, तेहेरिने सम्भावना रहेको र फेरि काम ढिला हुने भइरहेको छ । १० लाख र २० लाख जस्ता साना बजेटका काम पनि संघले योजनामा राख्ने तर काम नगर्ने तथा त्यो काम स्थानीय तहले नपाउने र कामै नहुने प्रवृत्ति देखिएको छ ।’

प्रतिक्रिया