नेपाल प्रहरीमा एआईजीको दरबन्दी थप्ने!


काठमाडौं – नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तीनवटा दरबन्दी थपिँदैछ। गत शुक्रबार मात्रै प्रहरी प्रधान कार्यालयले दरबन्दी थपको प्रस्ताव गृह मन्त्रालयमा पेश गरेको थियो।

दरबन्दी थपिएको पत्र मन्त्रिपरिषद बैठकबाट पारित भएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पठाउनेछ। स्रोतका अनुसार उक्त प्रस्तावमाथि प्रधानमन्त्री र गृहमन्त्री दुवैजना सकारात्मक छन्। यस विषयमा अर्थ मन्त्रालयले समेत स्वीकृत गर्ने सहमति जनाएको छ।

दरबन्दी थपिएसँगै थपिएको पदमा प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया समेत थालिसकेको छ। एआईजीको दरबन्दी थप भएसँगै भावी प्रहरी महानिरीक्षक (आईजीपी) नेतृत्वमा समेत चलखेल हुने देखिएको छ।

हालका आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन्। त्यसपछि हुने आईजीपीका लागि एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा दुईजना मात्र दाबेदार थिए।

दरबन्दी थप भएसँगै उनका ब्याचका प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरु धीरजप्रताप सिंह र उत्तम सुवेदी र रवीन्द्र धानुक, वसन्त लामा, अरुण विसी एआईजी बढुवाको लागि लबिङ गरिरहेका छन्।

जसमा सिंह, सुवेदी र धानुक एआईजीका सशक्त दाबेदार हुन्।

यसअघि पोखरेल र थापालाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ दरबन्दी सिर्जना गरेर एआईजीमा बढुवा गरेको हो। उनीहरु नेकपा एमाले निटक रहेको ट्याग लागेको छ।

पोखरेललाई आईजीपीको एक्लो दाबेदार बनाउने गरी तत्कालिन रक्षामन्त्री ईश्वर पोखरेलको दबाबमा सरकारले २७ कात्तिकमा एउटा एआईजीको दरबन्दी थप्दै बढुवा गरेको थियो।

महानिरीक्षकमा प्रतिस्पर्धा अन्त्य गर्ने गरी बढुवा गरिएको भन्दै सरकारको आलोचना भएको थियो। संसदको राज्य व्यवस्था समितिले पनि निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

त्यस्तै १४ असारमा थापालाई पनि एकल नयाँ दरबन्दी सिर्जना गरेर ओली सरकारले नै एआईजीमा बढुवा गरेको थियो। जतिबेला एआईजीको दरबन्दी थपिएसँगै भावी आईजीपीका लागि पोखरेल र थापाबीच मात्र प्रतिस्पर्धा हुने भएको थियो।

भावी नेतृत्वको लागि अब सरकारले नियुक्त गर्ने एआईजी र पहिला नै एआईजी भएका पोखरेल र थापाबीच चर्को प्रतिस्पर्धा हुनेछ। यसअघि आईजी बन्नकै लागि राजनीतिक शक्तिको आडमा सिनियर एसएसपीहरुलाई पाखा लगाउँदै एआईजीसम्म बनेका पोखरेल र थापाको सपना कतै तुहिने त होइन?

हाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन्। त्यसैले देउवाले पोखरेल र थापालाई पाखा लगाएर थपिएको एआईजी दरबन्दीमा बढुवा भएकाहरु मध्येबाट प्रहरी नेतृत्व चयन गर्नसक्ने स्रोतको दाबी छ।

सरकारले एआईजीमध्ये जसलाई चाहन्छ, उसैलाई आईजीपी बनाउन सक्छ। यसअघि प्रहरीमा जनपथतर्फ एआईजीको दरबन्दी ५ थियो। थपिएसँगै अब ८ जना हुनेछ।

प्रतिक्रिया