देशभर थप ३९३ जनामा कोरोना पुष्टी, २६३ जना निको हुँदा ३ को मृत्यु


काठमाडौं – नेपालमा गत २४ घण्टामा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २६३ जना निको भएका छन् । यस्तै बितेको २४ घण्टामा ३ जना कोरोना संक्रमितको ज्यान समेत गएको छ । ९ हजार ३२९ जनाको स्याम्पल परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ देखिएको जनाइएको छ ।

त्यस्तै गत २४ घण्टामा ३ लाख बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार जनाएअनुसार ३ लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । खोप अभियान सुरु भएदेखि अहिलेसम्म २ करोड ५२ लाख ७५ हजार २५४ जनालाई खोप लगाइएको छ भने त्यसमध्ये १ करोड ७ लाख १० हजार ७२१ जनाले पूर्ण डोज खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ८ लाख २९ हजार ६३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये कुल ८ लाख १२ हजार ९३७ जना संक्रमण मुक्त हुँदा ११ हजार ६०१ जनाको मृत्यु भएको छ ।

देशमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ भने क्वारेन्टाइनमा ९८ जना रहेका छन् । यस्तै देशभर सक्रिय संक्रमित ५ हजार ९४ जना रहेका छन् ।

प्रतिक्रिया