महिला सुरक्षाकर्मी बलात्कारको आरोपमा रोल्पा नगरपालिकाका अधिकृत थापा पक्राउ


रोल्पा – रोल्पा नगरपालिका रोल्पाका प्रशासकीय अधिकृत सुशील कुमार थापा बलात्कार आरोपमा पक्राउ परेका छन्।

सशस्त्र प्रहरीमा कार्यरत एक महिला सुरक्षाकर्मीको जाहेरीका आधारमा थापालाई जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले ६ दिन अघि निवासबाटै पक्राउ गरी बाँके प्रहरीमा बुझाएको हो।

आरोपित थापाले महिला सुरक्षाकर्मीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । बाँके जिल्लामा कार्यरत ती महिला सुरक्षाकर्मी र थापाबीच केही समयदेखि प्रेमसम्बन्ध रहेको जनाइएको छ । बाँके प्रहरी स्रोतका अनुसार दुई जनाबीच विवाह गर्ने सहमतिमा सम्बन्ध राखिएको थियो। तर, महिला सुरक्षाकर्मीले प्रहरीमा उजुरी हालेपछि घटनाक्रमले नयाँ रुप लिएको जनाइएको छ।

एउटै गाउँका उनीहरूबीच विवाह गर्ने सहमति गरिए पनि थापा परिवारले अन्यत्रै बिहेका लागि केटी हेरेको थाहा पाएपछि ती महिला सुरक्षाकर्मीले उजुरी गरेको हुनसक्ने जनाइएको छ ।

प्रहरीले प्रशासकीय अधिकृत थापालाई बिहिबार अदालतसमक्ष पेश गरी ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

थापा रोल्पा नगरपालिकाका सुचना अधिकारीसमेत रहेका छन् ।

प्रतिक्रिया