जनताले केपी ओलीको शासनबाट मुक्ति पाएका छन्ः शेरबहादुर देउवा


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारमा जनताले डर, त्रासको अनुभव गरेको भन्दै आफूले जनतालाई त्यो डर, त्रासबाट मुक्ति गराएको बताए।

पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफू प्रधानमन्त्री भएको भोलिपल्टबाटै सबैले ओलीको डर, त्रासबाट मुक्ति पाएको अनुभव गरेको बताए। उनले भने, ‘जनताले ओलीको शासनबाट मुक्ति पाए। अब त्यो मुक्तिलाई कायम राख्ने कि नराख्ने भन्ने कुरा तपाईँहरूको हातमा छ।’

आगामी निर्वाचनबाट राष्ट्रिय सरकार बनाउनका लागि आफूलाई जिताउन समेत उनले आग्रह गरे। महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरुलाई सभापतिमा आफू निर्वाचित भए गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्ने दाबी गरे।

उनले त्यसको जिम्मा आफूले लिने समेत बताए। उनले भने, ‘आउँदो सरकार काँग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म। त्यो मेरो जिम्मा भयो।’ पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट कुनै किसिमको मनमुटाव राख्न नहुने पनि उनले बताए।

‘भोलि चुनाव आउँछ, आन्तरिक निर्वाचनमा भएको मनमुटावले आगामी स्थानीय तहको र राष्ट्रिय निर्वाचनमा कुनै असर नगरोस्,’ उनले भने। उनले अब तीनै तहमा काँग्रेसको सरकार हुने दाबी गर्दै त्यसका लागि आफूलाई जिताउन कार्यकर्तालाई आग्रह गरे।

प्रतिक्रिया