
पुराना अपराधका दोषीलाई जुनसुकै बेला कानुनी दायरामा ल्याउँछौँः आइजिपी कार्की
काठमाडौं – प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटनाहरू प्रहरी संगठनको ‘इन्स्टिच्युसनल मेमोरी’मा रहने भएकाले पुराना अपराधमा संलग्न व्यक्तिलाई जुनसुकै बेला कानुनी दायरामा ल्याइने बताएका छन्।
उनले दशकौँअघि भएका घटनामा संलग्न व्यक्तिहरूलाई समेत पक्राउ गरी कानुनी कारबाही गर्दै आएको उल्लेख गर्दै प्रहरी संगठनले यस्ता घटनालाई नबिर्सने बताए।
‘व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन्। तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो। यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न,’ आइजिपी कार्कीले भने।
यद्यपि, पुराना आपराधिक घटनाको अनुसन्धानमा प्रहरीले अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको उनले स्वीकार गरे। उनका अनुसार पुराना घटनाको अध्ययन तथा निरन्तर अनुसन्धानबाट दोषीलाई कानुनी दायरामा ल्याउने काम भइरहेको छ।
पुराना चर्चित घटनाको अनुसन्धानका लागि विशेष टोली गठन गरिएको जानकारी दिँदै उनले केही घटनामा राम्रो सफलता प्राप्त भएको बताए। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत पुराना तथा जघन्य प्रकृतिका अपराधको अनुसन्धान जारी रहेको उनको भनाइ छ।
‘नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ,’ उनले भने।
आइजिपी कार्कीले बदलिँदो समाज, प्रविधि र अपराधको शैलीसँगै सुरक्षा चुनौती पनि थपिँदै गएको बताए। परम्परागत अनुसन्धान पद्धतिले मात्र आधुनिक अपराध नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै उनले प्रहरीलाई प्रविधिमैत्री र दक्ष बनाउन आवश्यक रहेको बताए।
प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई प्रभावकारी बनाउन पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरिएको उनले जानकारी दिए। ‘यो पूर्वानुमानयोग्य छ। कामका आधारमा मूल्याङ्कन हुन्छ, जसले व्यक्तिलाई सुधार्ने मौका पाउँछ,’ उनले भने।
प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै आइजिपी कार्कीले नागरिकले प्रहरी कार्यालयमै पुग्नुपर्ने बाध्यता कम गर्ने गरी प्रणाली विकास गरिएको बताए।
उनका अनुसार नागरिकले घरबाटै आवेदन तथा निवेदन दिन र त्यसको अवस्थाबारे जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ। ‘नेपाल पुलिस एपमार्फत धेरै सेवा लिन सकिने छ,’ उनले भने।
पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराध बढ्दै गएको भन्दै उनले यस्ता अपराधको अनुसन्धानका लागि आवश्यकताअनुसार जनशक्ति भर्ना तथा परिचालन गर्नुपर्ने बताए। यसका लागि विशिष्टीकृत अनुसन्धान इकाइ गठन गरिएको पनि उनले जानकारी दिए।
विश्वव्यापी रूपमा फैलिएको अपराधको सञ्जाल नियन्त्रण गर्न विभिन्न देशका प्रहरी संगठन तथा इन्टरपोलमार्फत अन्य मुलुकका विशिष्टीकृत अनुसन्धान इकाइसँग आवश्यक समन्वय भइरहेको आइजिपी कार्कीले बताए।
‘नेपाल प्रहरीले आधुनिक पुलिसिङका स्ट्यान्डर्डलाई अवलम्बन गर्दै अन्य मुलुकका विशिष्ट प्रहरी संगठनका सदस्यसँग समन्वय गरिरहेको छ,’ उनले भने।विधिको प्रयोगबाट हुने आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम हुने विश्वास व्यक्त गर्दै आइजिपी कार्कीले शान्ति, सुव्यवस्था र नागरिकको जीउधनको सुरक्षाका लागि आमनागरिकको सहयोग आवश्यक रहेको बताए।
‘प्रहरीलाई प्राप्त जिम्मेवारीमा सफलता हासिल गर्न आमनागरिकको सहयोगको अपेक्षा सदैव छ,’ उनले भने, ‘आपराधिक प्रवृत्ति भएका मानिसका बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दछु।’



कागजपत्र |
