‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६ वर्ष पूरा, जातीय छुवाछूत अपराध हो : प्रधानमन्त्री देउवा


काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछूत सामाजिक रूपमा अनैतिक, अमानवीय र कानूनी रूपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६औं वर्ष पूरा भएको अवसरमा उनले शुभकामना सन्देशमार्फत हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित जीवनका लागि शुभकामना व्यक्त गरेका छन् ।

विक्रम संवत् २०६३ जेठ २१ गते नेपाललाई ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको हो । नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् ।

प्रधामन्त्री देउवाले जातीय भेदभाव र छुवाछूतको व्यवहार एक सभ्य समाजको कलंकका रूपमा रहेको हुँदा प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानून नै बनाएर समातामूलक समाज निर्माणको सार्थक प्रयास हुँदै आएको उल्लेख गरेका छन् ।

मानव सृष्टि र सभ्यताको विकासक्रमसँगै प्रारम्भ भएको विभेद, विकृति र विसंगतिले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैंगिक विभेदका व्यवहार हुनु आफैंमा एक अपमानजनक कार्य रहेको बताए ।

विक्रम संवत् २०५८ साउन ३२ गते छुवाछूत अन्त्य गर्ने प्रतिबद्धता संसद्मा घोषणा गरी सोही वर्ष राष्ट्रिय दलित आयोगको स्थापना भएको हो । मुलुकको राजनीतिक परिवर्तनसँगै २०६३ सालको अन्तरिम संविधानबाट प्रारम्भ गरी नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ । तथापि जातीय भेदभाव र छुवाछूतकै आधारमा दलित समुदायका व्यक्तिको ज्यानै जाने समेतका गम्भीर घटनाहरू हुनु दुःखद् भएको उनले बताए ।

यस्तो परिस्थितिको अन्त्य गर्न सरकार दृढ संकल्पित रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सभ्य र आधुनिक समाज निर्माण गर्ने हामी सबैको दायित्व भएको जनाए । उनले ‘कसैले कसैलाई पनि कुनै पनि किसिमको विभेद नगरौं, सबै किसिमका विभेदको आ–आफ्नो ठाउँबाट प्रतिवाद गरौं, भेदभाव विरुद्धका सबै कानूनको प्रभावकारी कार्यान्वयन गरौं, सभ्य र समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रिय अभियानमा सहभागी बनौं’ भन्ने अपिल गर्दै ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६औं वर्ष पूरा भएको अवसरमा शुभकामना व्यक्त गरेका छन्

प्रतिक्रिया