
सङ्घीय संसदका ५ वटा समितिका बैठक बस्दै
काठमाडौं – सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न पाँचवटा संसदीय समितिहरूको बैठक सोमबार बस्ने भएको छ। समितिहरूले आ-आफ्ना कार्यसूची तय गर्दै बैठक डाकेका हुन्।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोह्रौँ बैठक बिहान ११:०० बजे सिंहदरबारस्थित समितिको कक्षमा बस्दै छ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा नेपाल पर्वतारोहण सङ्घलगायतका सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९:३० बजे बस्ने तय भएको छ। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्राविधिक प्रतिवेदनमाथि छलफल हुनेछ। छलफलका लागि सम्बन्धित मन्त्री, सचिव तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक कार्यदल संयोजकलाई आमन्त्रण गरिएको छ।
पूर्वाधार विकास समितिको ११औँ बैठक बिहान १०:०० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ। पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी विषयमा केन्द्रित रहने उक्त बैठकमा लगानी बोर्डको कार्यालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ र नेपाल-इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिहरूलाई बोलाइएको छ।
राष्ट्रिय सभातर्फ विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ। यसका लागि कृषि, वन तथा पर्यावरण मन्त्रीसहित सोही मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरूलाई आमन्त्रण गरिएको छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३४४औँ बैठक दिउँसो २ बजे बस्दै छ। उक्त बैठकमा विषय विज्ञ धन प्रसाद लामिछानेसँग खर्क नीतिका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ।



कागजपत्र |
