भारतीय प्रधानमन्त्री मोदी पहिलोपटक लुम्बिनी आउँदै, यस्ताे छ कार्यतालिका

३० जना भारतीय स्पेशल प्रोटेक्सन गार्ड बुधबार नै लुम्बिनीमा


बुटवल – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक बुद्धजन्मस्थल लुम्बिनीमा आउने भएका छन् । आगामी जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर मोदी लुम्बिनी आउने पक्का भएको हो ।

मोदी जेठ २ गते बिहान ११ बजे लुम्बिनी आउने कार्यक्रम तय भएको छ । उनी दिल्लीबाट कुशीनगर झरेर त्यहाँबाट ४ वटा हेलिकप्टर प्रयोग गरेर सोझै लुम्बिनी आउने कार्यक्रम छ । मोदी लुम्बिनी आउने भएपछि लुम्बिनी क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ ।

मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड ) बुधबार नै लुम्बिनी आइसकेका छन् ।  उनीहरू भारतीय वायु सेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेका थिए ।

बुधबारदेखि नै लुम्बिनीमा नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती सुरु गरिसेकेको छ । ‘भित्री सुरक्षा सबै हेडक्वार्टरले हेरेको छ, जिल्लाले बाहिरी सुरक्षा मात्र हेरेको छ’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।

माेदीकाे  लुम्बिनी कार्यतालिका

लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने छन् । त्यसपछि मोदीले मायादेवी मन्दिर दर्शन र भारतीय बुद्धिस्टहरुको संस्था इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेरेडेसन भारतको संस्कृति तथा पर्यटन मन्त्रालय मातहत छ । एक अर्ब भारतीय रुपैयाँमा तीन वर्षभित्र बौद्ध बिहार निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

मायादेवी मन्दिरमा करिब ४० मिनेट बिशेष पूजामा सहभागी हुने र त्यहाँ केही बेर फोटोशेसन तथा अशोक स्तम्भ अगाडि दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि मोदी २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । मोदी लुम्बिनीमा २ देखि ३ घण्टा रहने सुरक्षा स्रोतले जनाएको छ ।

यसअघि सन् २०१४ मा मोदी लुम्बिनी आउने कार्यक्रम थियो तर यहाँ नआई मुस्ताङको मुक्तिनाथ पुगेर फर्केका थिए ।

प्रतिक्रिया