राजालाई दल नभइ दलहरूलाई राजा आवश्यक देखिएको छः पाठक


काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टीको पछिल्लो महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रको ‘हस्तक्षेप’ भएको आरोप कमल थापाले सार्वजनिक रूपमै लगाएपछि पूर्वराजा शाहका एकजना सहयोगीले त्यसलाई थापाको ‘पराजित मानसिकता’ बताउँदै राजाले त्यस्तो कुनै चासो नलिएको बताएका छन्।

बीबीसीसँग कुरा गर्दै शाहका सचिव फणिराज पाठकले भने, “जनताको चाहना अनुसार भनेर वहाँले नारायणहिटी र सम्पूर्ण कुरा (छाडेको बेला) एउटा पार्टीको विषयमा को अध्यक्ष बन्ने र को नबन्ने भन्ने बिषयमा लाग्ने प्रश्न नै छैन।”

पाठकले यतिखेर ‘राजालाई दल नभइ दलहरूलाई राजा आवश्यक भएको’ आफूहरूले महसुस गरिरहेको बताए।

“विभिन्न दलमा, त्यहाँका नेताहरूले गरेका भाषण र कुराकानी मध्यनजर गर्दाखेरी देशको वर्तमान परिप्रेक्षमा राजा कुनै न कुनै किसिमबाट आवश्यक छ अभिभावकीय भूमिकाका लागि भन्ने देखा परिराखेको (मैले) देख्छु,” उनले भने।

यस्तो अवस्थामा पूर्व राजाले कुनै व्यक्ति, पार्टी वा त्यसको नेताको बारेमा चिन्ता लिने प्रश्न नउठ्ने उनले बताए।

“राप्रपा भनेको राजाको एजेन्डा बोकेको पार्टी हो राजाको आफ्नो पार्टी त होइन। त्यसैले त्यहाँ को अध्यक्ष बन्छ, कसले जित्छ भन्ने कुरामा (पूर्व राजा)को चासो छैन।”

 

कमल थापाको उदय र पराजय

राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले पूर्वराजा र हिमानी शाहलाई किटेरै ट्विटहरू गरेका थिए।

जसमा थापाले निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको र आफूलाई राजनीतिक रूपमै समाप्त पार्न खोजिएको आरोप लगाएका थिए।

ट्वीटमार्फत् हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिए पनि उनी नयाँ कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा उपस्थित भएका थिएनन्।

झण्डै डेढ दशक पार्टी नेतृत्वमा रहेका थापाको उदय र अहिलेको पराजयलाई पत्रकार युवराज घिमिरेले अचानक भएको विकासक्रम मान्दैनन्।

घिमिरेका विचारमा एउटा नेताको रूपमा थापाको उदय प्रतिकूल परिस्थितिमा समेत आफ्नो संवैधानिक राजतन्त्र र धर्मसापेक्ष नेपालको सिद्धान्त नछोड्ने व्यक्तिको रूपमा भएको देखिन्छ।

“तर दोस्रो संविधानसभाको निर्वाचनमा आफ्ना तिनै नारा बोकेर एउटा उल्लेख्य आकार संसद्मा ल्याएपछि पक्कै पनि उनले त्यसको दुरूपयोग गरेका हुन्। सिद्धान्त भन्दा विपरीत मान्यता बोक्ने सरकारमा उनी गए,” युवराज घिमिरे भन्छन्।

“सत्ताको लागि उनले सिद्धान्त छाडे। पार्टीभित्रै उनको सम्मान घट्न थालेको त्यसबेलादेखि हो। र अहिलेको हारले त्यसको पुष्टि पनि गर्‍यो।”

 

राजतन्त्रको मुद्दा के होला?

शाहका सचिव फणिराज पाठकले महाधिवेसनसँगै राप्रपामा देखिको चिसोपनकै भरमा राजतन्त्रको मुद्दामा पार्ने असरबारे सोच्नु हतारो हुने बताए।

“मुद्दा कमजोर बन्छ वा अझ बलियो बनेर जान्छ वा अरूहरूले पनि यो बोकेर पो जान्छन् कि के गर्छन् भन्ने कुरा समयले देखाउँछ,” पाठक भन्छन्।

“तर अब आम नेपालीको चाहनाभन्दा बाहिर कुनै पनि दल जान सक्छ जस्तो मलाई लाग्दैन।”

व्यावहारिक रूपमा जेजसरी मुद्दालाई अघि बढाए पनि राप्रपाको सैद्धान्तिक एकता संवैधानिक राजतन्त्र र धर्मसापेक्ष नेपालकै पक्षमा भएको पत्रकार घिमिरे ठान्छन्।

“कमल थापाको पराजयलाई कतिपयले सिद्धान्त र व्यवहारमा उनले देखाएको ठूलो फरकका कारण दण्डित गरिएको ठान्छन्,” घिमिरेको भनाइ छ।

“यतिखेर हेर्नुपर्ने भनेको नयाँ नेतृत्व सामु रहेको त्यही चुनौतीमाझ लिङ्देनले कत्तिको सामन्जस्य ल्याउँछन् भन्ने हो।”

-बीबीसी

प्रतिक्रिया