प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैनः ज्ञानेन्द्र शाह


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले ७२ औं प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् । पूर्वराजा शाहले फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवसका अवसरमा प्रजातन्त्र निर्देशित र नियन्त्रित नहुने बताउँदै लोकसम्मत हुनुपर्ने बताएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै शाहले प्रजातन्त्र भनेको कसैले कसैलाई दिने दान वा अनुदान पनि नभएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हुदैन ।’

विज्ञप्तिः

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बक्सेको शुभकामना ।

नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

प्रजातन्त्र दिवसको सन्दर्भमा हामी सर्व प्रथम प्रजातन्त्रका निम्ति उद्यत रहने पूज्य जिजु वुवा राष्ट्रपिता श्री ५ त्रिभुवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्न चाहन्छौं ।

जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सुप्रवन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो । राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ । न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ । राष्ट्र र राष्ट्रियता सहितको प्रजातन्त्रको लागि जनता र राजा सधैं एक रहिआएका छन, रहिरहने छन् । प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुयाएको र जनतालाई निराशाको दहमा डुबाउदै लगेको महशुस हुदै आएको छ । यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारेमा समिक्षा गर्न अब हामी सबै नेपाली तयार हुनु पर्दछ ।

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हुदैन । त्यो स्वत: स्फुर्त एवं लोक सम्मत हुन्छ र हुनु पर्दछ । अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पुयाई रहेको छ, विचारणीय प्रश्न छ ।

आजको यो ऐतिहासिक दिनमा जनताले अपेक्षा गरेको, रोजे खोजेको सही शासन पद्धति र विधि विधानमा लाग्न सबैको ध्यान जाओस्, यही हाम्रो कामना छ ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल । २०७८ फागुन ७ गते

 त्यो स्वत: स्फुर्त एवं लोक सम्मत हुन्छ र हुनु पर्दछ । अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पुयाई रहेको छ, विचारणीय प्रश्न छ ।

आजको यो ऐतिहासिक दिनमा जनताले अपेक्षा गरेको, रोजे खोजेको सही शासन पद्धति र विधि विधानमा लाग्न सबैको ध्यान जाओस्, यही हाम्रो कामना छ ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल । २०७८ फागुन ७ गते

 

 

प्रतिक्रिया