लयमा फर्कँदै सर्वोच्च, आज पनि तोकियो १८६ मुद्दामा पेशी


काठमाडौं – सर्वोच्च अदालतमा आज (बुधबार) का लागि १८६ मुद्दाको पेशी तोकिएको छ ।

विगत केही सातादेखि इजलाश बहिस्कार गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएका केही न्यायाधीश र कानुन व्यवसायीको धर्नाका बाबजुद अघिल्लो सातादेखि नियमित रुपमा इजलाश तोकिँदै आएको छ ।

यसैअनुरुप प्रधानन्यायाधीश जबराले बुधबारका लागि ९ वटा इजलासमा १८६ मुद्दाको पेशी तोकेका हुन् । उक्त पेशीमा बन्दीप्रत्यक्षीकरण बाहेक अन्य किसिमका मुद्दाहरुको पनि पेशी तोकिएको छ ।

९ मध्ये ७ इजलाशमा २ जना न्यायाधीशको संयुक्त इजलास तोकिएको छ भने न्यायाधीशद्वय हरिकृष्ण कार्की र हरिप्रसाद फुयालको एकल इजलाश तोकिएको छ ।

विवाद समाधानका लागि अग्रगामी भूमिका खेलेका प्रधानन्यायाधीश जबराले आफ्नो भने कुनै इजलाश गठन गरेका छैनन् ।

इजलाश बहिस्कार गर्दै आएका न्यायाधीशलाई साथ छोडेर केही न्यायाधीश इजलाशमा फर्किएपछि न्यायपालिकाको काम केही रुपमा अघि बढेको देखिएको छ ।

मंगलबारदेखि ५ न्यायाधीश इजलाशमा फर्किएर बन्दीप्रत्यक्षीकरण बाहेकका केही मुद्दाको सुनुवाई सुरु भएपछि अदालतको गतिरोध अन्त्य हुने लक्षण देखिएको छ ।

सर्वोच्चकै १९ न्यायाधीशको बीचमा पनि मतैक्यता रही ५ न्यायाधीश काममा फर्किएपछि आन्दोलनमा फाटो देखिएको छ ।

पछिल्लो समयमा धर्नाकारी कानुन व्यवसायी र न्यायाधीशको विपक्षमा जनमानस उठ्न सक्ने सम्भावना देखिएपछि केही धर्नाकारीहरु केही मत्थर भएको देखिएको छ ।

प्रतिक्रिया