प्रधानन्यायाधीश जबराको समर्थनमा उत्रिएका करिब ५० जना पक्राउ
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आईतबार नेपाल बार एशोसिएशनको निरन्तर आन्दोलनलाई प्रतिकार गर्न प्रधानन्यायाधीशको समर्थनमा परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा केहीले सडकमा नाराबाजी गरेका थिए । बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएको थियो ।
यस क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । सो क्रममा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।
यसैबीच बार एशोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् ।