प्रशिक्षक अलमुताइरी किन रोए?


टेलिभिजनको अघिल्तिर बसेको थिएँ, एक्लै। ८ मिनेट बित्दै थियो। बंगलादेशी खेलाडीले पाएको फ्रि–किकमा पास दिएपछि गोल हान्यो।

मनमनै मुर्मुरिएँ। तर आश जीवित थियो, भाग्यको पनि पर्खाइ थियो।

विहानमात्र मैले खेलकुद पत्रकार मित्र राधेश्याम दाहाललाई सोधेको थिएँ,‘आज नेपालले के गर्छ?’ उनले भनेका थिए,‘फूटबल त भाग्य पनि हो।’

उनको भनाई जस्तै भयो। बंगलादेशी किपर जिकोले रातो कार्ड पाएर निस्कनु र नेपालले पेनाल्टी पाउनु भाग्य नै थियो।

खेलको ८८ मिनेटमा अञ्जन विष्टले पेनाल्टीमा गरेको गोलले मेरो पनि हर्षको सीमा रहेको थिएन। सानो कोठाको चारैतिर म पनि दगुर्दै, हिप–हिप हुर्रे भन्दै एक्लै नाँचे।

मेरी श्रीमतिले हल्ला भयो भन्दै सम्झाउन आइन्। टेलिभिजनतिर मेरा आँखा सोझिरहेका थिए। प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भगवानतिर फर्किएर रुँदै थिए। नेपाली खेलाडी पनि २८ बर्षपछि देशलाई साफको फाइनलमा पुराएको खुसीमा आँसुविभोर थिए।

एउटा भनाई छ नि– कहिलेकाहीँ आँसुहरू भन्न नसकिने खुसीका प्रतीक हुन्। यो भन्न नसकिने, व्याख्या गर्न नसकिने खुसीको प्रतीक थियो। राजनीतिले गाँजेको अखिल नेपाल फूटबल संघ (एन्फा)को दबाबबीच खेलाडी चयन गरी खेल देखाउने दबाब र सफलताको खुसी थियो।

भ्रष्टाचार, नातावाद र कृपावादको गाँजिएको नेपाली राष्ट्रिय फूटबल टोलीमा क्षमतावान एक से एक खेलाडी र तिनको प्रतिभालाई प्रस्तुत गरेवापत एन्फाका पदाधिकारी अलमुताइरीलाई विदा गर्न चहान्छन्। खासमा फूटबल भनेको प्रतिभा भएर देखाउन सक्ने कला मात्र होइन, प्रोत्साहनपूर्ण अभिव्यक्ति पनि हो। त्यसैले अलमुताइरीले भारतसँगको हारमा भनेका थिए– जिम्मा म लिन्छु

यो खुसी आफूले लिएको दायित्वले पाएको सफलताको खुड्कीलो चढ्दाको विभोरतामा आँसुमय भयो। अब्दुल्लाह अलमुताइरी र खेलाडीको आँसु तिनैको प्रतीक थियो।

यो कुनै खेलमात्र होइन। यो त वीरहरूको परिचय हो। यो, गुमाएको नाम, हराएको मिहेनतले पाउलो हाल्दाको खुसी हो। यो युद्धभन्दा भयंकर ठूलो जीतको आँसु हो। त्यसैले केटाहरू रोए, अलमुताइरी रोए।

अहिले सामाजिक सञ्जालका हर भित्तामा, भिडिओहरूमा नेपालीको जीत, खुसीका गाथा हेर्दा एन्फाका पदाधिकारीको शिर कति निहुरिएको होला? यस्तो सोच्न मन लाग्छ। तर, फोहोरी दलदलबाट त्यहाँ पुगेका पदाधिकारीका लागि यो कुनै लाजको विषय बन्नेवाला छैन, त्यो पनि हेक्का राखिएको छ।

भ्रष्टाचार, नातावाद र कृपावादको गाँजिएको नेपाली राष्ट्रिय फूटबल टोलीमा क्षमतावान एक से एक खेलाडी र तिनको प्रतिभालाई प्रस्तुत गरेवापत एन्फाका पदाधिकारी अलमुताइरीलाई विदा गर्न चहान्छन्। खासमा फूटबल भनेको प्रतिभा भएर देखाउन सक्ने कला मात्र होइन, प्रोत्साहनपूर्ण अभिव्यक्ति पनि हो। त्यसैले अलमुताइरीले भारतसँगको हारमा भनेका थिए– जिम्मा म लिन्छु।

भ्रष्ट राजनीतिक दलको दलदलबाट एन्फाको सर्वोच्च निकायमा पुगेका दूषित किराहरू सफा नगरेसम्म नेपाली फूटबलले कहिल्यै पनि विजय गाथा रच्न सक्तैन, अपवादमा आएका अलमुताइरीहरूले विदा लिने घोषणा गरिरहन्छन्, नेपालीजन त्यसलाई हेरिरहन्छन्। अब, हौसला दिने यस्ता प्रशिक्षकहरूको सुरक्षण नगरे नेपाली खेलाडीको ‘मोरल’ कसरी अगाडि बढ्छ?

हरदिन राजनीतिका कुरा सुन्दा टिठ लाग्छ। एउटा पत्रकार नभई नागरिक भएर घोत्लिँदा नेताका अनुहारहरूमा हिलो छ्याप्न मन लाग्छ। यीनका चरित्रका दुई पाटा जानेकैले होला मुन्तिर टाउको मास्तिर खुट्टा बनाएर सिस्नो पानीले कुट्न मन लाग्छ। त्यो आक्रोशको ज्वारभाटा पलाउँछन् बेलामौका। तर यी मनभित्रका उकुस–मुकुस मात्र हुन्, यथार्थमा यसो गर्न त कहाँ सकिन्छ र!

यस्तो आवेगलाई नेपाली खेल, खेलाडी र अलमुताइरीहरू जस्तो प्रशिक्षकले खुसीमा बदल्छन् जसले केही त छ नेपालमा भन्ने आश पनि जाग्छ। अतः खेल र खेलाडीलाई राजनीतिको कुरुप, कालो छायाँभन्दा माथि उठाउनका लागि दबाब दिऔं।

प्रतिक्रिया