चिन्नास्वामी स्टेडियम बाहिर भागदाैड काण्ड: आरसीबीका मार्केटिङ प्रमुखसहित ४ जना पक्राउ


काठमाडाैं- आईपीएलमा १८ वर्षको लामो प्रतिक्षापछि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले उपाधि जितेको थियो। तर उपाधि जितेपछिका घटनाक्रमले टीमको पक्षमा स्थिति सहज देखिएको छैन। बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा विजयोत्सव मनाइँदै गर्दा स्टेडियम बाहिर भागदौड मच्चिँदा ११ जनाको दुःखद मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्।

घटनालाई लिएर विषय विवादास्पद बन्दै गएको छ र यसैबीच प्रहरीले कारबाही गर्दै आरसीबी फ्रेन्चाइजीकै मार्केटिङ प्रमुख निखिल सोसलेसहित चार जनालाई पक्राउ गरेको छ।

गिरफ्तारीपछि निखिल सोसलेको प्रोफाइल हेर्दा उनी स्टार खेलाडी विराट कोहली र अनुष्का शर्मासँग देखिएका थुप्रै तस्बिरहरू भेटिएका छन्। आईपीएल खेलको क्रममा पनि उनी यी दुईसँग देखिएका थिए। उनकी पत्नी मालविका नायक पनि आईपीएल २०२५ का क्रममा अनुष्का शर्मासँग स्ट्यान्डमा बसेको अवस्थामा देखिएकी थिइन्।

निखिल सोसले के गर्छन्?

लिंक्डइनमा उपलब्ध जानकारी अनुसार निखिल सोसलेको जन्म सन् १९८६ अगस्ट १८ मा भएको थियो। उनी आरसीबीसँग सुरुवाती दिनदेखि नै संलग्न छन् र पछिल्ला दुई वर्षदेखि फ्रेन्चाइजीकै मार्केटिङ तथा राजस्व प्रमुखको रूपमा काम गर्दै आएका छन्। उनी डियाजियो इन्डियामा कार्यरत छन्, जुन युनाइटेड स्पिरिट्स लिमिटेडको संचालन गर्ने कम्पनी हो। डियाजियो इन्डियाकै स्वामित्वमा आरसीबी रहेको छ।

जानकारीअनुसार प्रहरीले उक्त भागदौड  घटनामा कारबाही गर्दै विहान करिब ६:३० बजे बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट निखिल सोसलेलाई पक्राउ गरेको हो। कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले सो घटनामा सिधै पक्राउको आदेश दिएका थिए। त्यसपछि निखिलसहित थप तीन जनालाई समेत पक्राउ गरिएको हो।

प्रतिक्रिया