आरसीबीको विजय उत्सवमा भागदौड: ११ जनाको ज्यान गएपछि विराट कोहलीले के भने ?


बेंगलुरु – आरसीबी (राेयल च्यालेन्जर्स बेंगलुरु) को आइपिएल जितको उत्सवको क्रममा चिन्नास्वामी रंगशालाबाहिर भएको भागदौडमा ११ जनाको मृत्यु भएको घटनाले देशभर शोकको लहर फैलिएको छ। अब यस घटनाप्रति भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले पनि भावुक प्रतिक्रिया दिएका छन्।

कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आरसीबीले जारी गरेको औपचारिक विज्ञप्ति साझा गर्दै लेखेका छन्, “मसँग भन्नका लागि कुनै शब्द छैन। म पूर्ण रूपमा भावुक छु।”

आरसीबीको विज्ञप्तिमा भनिएको छ, “मिडिया रिपोर्टहरूमा देखिएका दुर्भाग्यपूर्ण घटनाहरूले हामीलाई अत्यन्त दुःखी बनाएको छ। हामी सबै पीडितप्रति गहिरो संवेदना प्रकट गर्दछौं। सबैको सुरक्षा र कल्याण हाम्रो उच्च प्राथमिकता हो।”

घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरै जना घाइते छन्। बुधबार साँझ चिन्नास्वामी रंगशालाबाहिर एक लाखभन्दा बढी समर्थकहरू आरसीबी टोलीलाई बधाई दिन जम्मा भएका थिए। आरसीबीले १८ वर्षपछि पहिलोपटक आइपिएल ट्रफी जितेको हुँदा युवा, महिला, वृद्ध, बालबालिका सबै सडक छेउमा टोलीको स्वागतमा उत्रिएका थिए।

भीड अत्यधिक भएपछि स्थिति नियन्त्रणबाहिर गयो र भागदौड मच्चियो। प्रहरीले एफआईआर दर्ता गरे पनि कसैलाई प्रत्यक्ष दोषी तोकिएको छैन। यसै सन्दर्भमा कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले मजिस्ट्रेटस्तरीय अनुसन्धानको आदेश दिएका छन्।

यस घटनाले प्रहरी र प्रशासनको तयारीमाथि ठूलो प्रश्न उठाएको छ। आयोजक, विशेषतः आरसीबी व्यवस्थापन र स्थानीय प्रशासनबीच समन्वयको अभाव, यस दुःखद दुर्घटनाको मुख्य कारण बन्न पुगेको देखिन्छ।

प्रतिक्रिया