साफ च्याम्पियनसीपः नेपाल र भारतबीच २८ वर्षपछि फाइनल भेट तय


काठमाडौं – माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपालले अब भारतसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोलीबीचको फाइनल खेल २८ वर्षपछि तय भएको हो।

बुधबार भएको खेलमा नेपाल र भारतले आफू अनुकुल नतिजा निकाल्दै ३० असोजमा हुने फाइनल भिडन्त पक्का गरेका हुन्। बुधबार भएको खेलमा भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो।

भारतका कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले खेलमा भारत ३–१ गोलले विजयी बनेको हो। फाइनलमा प्रवेश गर्नका लागि जित्नै पर्ने दबाबमा रहेको भारतलाई खेलको ३३ औँ मिनेटमा मनवीर सिंहले अग्रता दिलाएका थिए।

तर पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत अलि अस्फाकले खेल बराबरी गरे। खेल बराबरीमा सकिएको भए माल्दिभ्स सोझै फाइनलमा पुग्ने स्थिति थियो। तर, दोस्रो हाफमा कप्तान क्षेत्रीले दुई गोल गर्दै भारतलाई जीत दिलाए।

सात पटकको विजेता भारत सन् २००३ मा मात्र तेस्रो स्थानमा सीमित बनेको छ। टोलीले प्रतियोगिताका पछिल्ला ११ संस्करणमा विजेता या उपविजेता बन्यो।

बुधबार नै भएको खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। नेपाल साफ च्याम्पियनसीपको फाइनलमा पुगेको यो पहिलो पटक हो।

प्रतिक्रिया