ट्राफिक प्रहरीको दसैं लक्षित योजनाः टिकट काउन्टरमा ‘सुराकी’ प्रहरी !


काठमाडौं २१ असोजबाट दशैं सुरु हुँदैछ। दशैं आउन केही दिन बाँकी रहँदा काठमाडौं उपत्यकामा चहलपहल बढ्दो छ। विशेषतः सपिङको लागि काठमाडौंको न्युरोड, भृकुटीमण्डप, असनबजार, जमल, रत्नपार्क, सुन्धारा, नयाँ बसपार्क, गौशाला, चाबहिल, कोटेश्वर, कलंकी, बल्खु क्षेत्रमा चहलपहल बढेको देखिन्छ।

मानिसहरुको चहलपहलसँगै सडकमा सवारीसाधनहरुको ताँती छ। यतिबेला काठमाडौंको मुख्यमुख्य चोकमा घन्टौंसम्म ट्राफिक जाममा बस्नुपर्ने बाध्यता रहेको छ। चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखा, बग्गीखानाको विशेष भूमिका रहन्छ।

नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरेर महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना नै बनाएर कार्यान्यवनमा जानुपर्ने हुन्छ। ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको छ।

चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए। यस्तै भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गरी निगरानी गरिने एसएसपी भट्टराईले बताए।

यात्रुलाई ठग्ने, एउटै व्यक्तिले धेरै वटा सीटको टिकट काट्ने, आवश्यकताभन्दा बढी रकम लिने गरिएको जस्ता गुनासा यसअघि आउने गरेकाले अहिले हामीले त्यसको सुराकीका लागि काउन्टरहरुमा सादा पोशाकका प्रहरी परिचालन गरेका छौं, भट्टराईले भने, ‘उनीहरुले काउन्टरमा भइरहेको गतिविधिबारे सुक्ष्म निगरानी गर्नेछन्। कानुन विपरित कार्य भएको पाइए कारबाही हुनेछ।

एसएसपी भट्टराईका अनुसार मुख्यतः नयाँ बसपार्क क्षेत्र, चाबहिल, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क र गौशालामा सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन हुनेछ। सादा पोसाकका ट्राफिक प्रहरीले फर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्नेछ। त्यस्तै टिकट मूल्यअनुसार लिएको छ, छैन चेकजाँच गर्ने महाशाखाले जनाएको छ।

महाशाखाको ट्राफिक सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए÷नभएको प्रविधिबाट हेरिने जनाएको छ। २ जना चालक भए÷नभएको ट्राफिक प्रहरीको एप्सबाट हेर्नसक्ने भट्टराईको भनाइ छ। सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने र अनिवार्य गराउने महाशाखाको दावी छ।

यस्तै मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, तीब्र गतीमा सवारी चलाउने, ओभरलोड, सवारीअन्य भाग तथा छतमा यात्रु मालसामान राख्ने जिकज्याक सवारी चलाउनेलाई कडाईको साथ कारबाही गरिने बताइएको छ। बसपार्कबाट बाहिरिने गाडीहरुलाई अनिवार्य रुपमा यान्त्रिक परीक्षण सुरु गरिएको पनि महाशाखाले जनाएको छ।

हाल उपत्यकामा १४ सय १ ट्रफिक प्रहरी कार्यरत छन्। दशैंलाई लक्षित गरेर उनीहरुको परिचालनलाई व्यापक बनाउँदै नियमित चेकिङमा थप कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ। नागढुंगा खडकखण्डमा ठूला मालबहाक सवारी बिग्रेर घण्टौंसम्म जाम हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न ४० टन क्षमताको क्रेन नागढुंगामा राखिएको छ।

तोकिएको भन्दा बढी भाडा असुली गर्ने, लामो दूरीका सवारीमा दुईजना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शंका लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउन एसएसपी भट्टराईले सर्वसाधारणसँग अपिल गरेका छन्।

 

मापसे चेकिङमा कडाई

महाशाखाका एसएसपी भट्टराईले थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ र बालाजुबाइपास र काठमाडौँबाट बाहिरिने सबै लामो दूरीका सवारी साधनहरुमा पनि मापसे चेकिङ हुने जानकारी दिए। नागढुंगातर्फ जाने सवारी साधनहरुलाई कलंकी र थानकोट चेकपोष्ट चोकमा चेकिङ हुन्छ।

एसएसपी भट्टराईले अनलाइनन्युजसँगको कुराकानीमा काठमाडौँ उपत्यकामा मापसे चेकिङमा समेत कडाइ गरिने बताए। उनले भने, ‘रातको समयमा समयाअनुकुल अनुसार मापसे चेकिङ हुन्छ। त्यतिमात्र होइन, उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सम्पूर्ण सवारी साधनहरुको मापसेसहितको सम्पूर्ण चेकजाँच हुने भट्टराईको भनाइ छ।

सिंहदरबार, महाराजगञ्ज, गौशाला, कोटेश्वर, सातदोबाटो, कालीमाटी, फर्पिङ, भैसेपाटी, चापागाउँ, स्वयम्भु, कीर्तिपुर, जावालाखेल, भक्तपुर, दरबारमार्ग, टोखा, थानकोट र काँडाघारी, बौद्ध, कलंकी, थापाथली, सोह्रखुट्टे, कमलपोखरी, कमलविनायक, मंगलबजार, गठ्ठाघर, एयरपोर्ट, सानेपा, जनसेवा, बुढानिलकण्ठ, नयाँबसपार्क, सुकेधारा, ठमेल, कपन, नागढुङ्गा र बल्खुले मापसे चेकिङ हुने महाशाखाले जनाएको छ।

 

भीडभाड एरियामा थप ट्राफिक प्रहरी परिचालन

महाशाखाले उपत्यका भित्रिने नाका, व्यापारीक क्षेत्रहरु भीडभाड तथा बसपार्क एरियामा थप जनशक्ति परिचालन गरिने जनाएको छ । एसएसपी भट्टराईका अनुसार ४६ स्थानहरुमा नियमित ड्युटीका लागि २३० जनशक्ति परिचालन भइरहेको छ। चाडपर्वको समयमा अतिरिक्त थप १०० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको समत एसएसपी भट्टराईले जानकारी दिए।

दशैँ, तिहार तथा छठ पर्वमा सवारी चाप हुने काठमाडौँका मुख्य स्थानहरुमा डाइभर्सनको समेत व्यवस्था गरिनेछ। जस्तै न्यूरोड, भोटाहिटी, दरबारमार्ग, कालीमाटी, कलंकी, नयाँबसपार्क, गौशाला, चावहिल, कमलपोखरी, बानेश्वर, ठमेल, महाराजगञ्ज, बौद्ध, जोरपाटी, लगनखेल, मंगलबजार, भक्तपुर गुहेश्वरी, कमलपोखरी, बागमति नदीको किनार थापाथली, शंखमुल दोभान, बल्खु क्षेत्रमा सवारी साधन डाइभर्सन गरी पार्किङको समेत व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।

 

१४ स्थानमा यात्रु सहायता कक्ष

महाशाखाका अनुसार उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन आएको छ। नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन्।

सर्वसाधारण यात्रीहरुलाई सुरक्षा सम्बन्धी सूसुचित गर्नको लागि यात्रु सहायकता कक्षले मनिटरिङ गर्नेछ। यात्रुहरुको पिरमर्का तथा गुनासोलाई सुक्ष्म रुपमा मनन् गरी आवश्यक सहयोग हुन्छ। थानकोटनागढुां सडकमा सवारी साधनहरु चलाउँदा ओभरटेक गर्न नपाइने महाशाखाले जनाएको छ। लेन अनुशासनमा रहेर सवारी साधन चलाउनुपर्ने बताइएको छ।

प्रतिक्रिया