हचुवाको भरमा ट्राफिक प्रहरीको काज सरुवा!

थानकोटमा महिनावारी रुपमा पैसा उठाउँछन् ट्राफिक प्रहरी


काठमाडौं – सामान्यतः नेपाल प्रहरीमा अझै पनि धेरै प्रहरी कर्मचारी दरबन्दी बाहिर छन्। दरबन्दी बाहिर रहेका प्रहरी कर्मचारी दरबन्दीमा जान समेत सितिमिती मान्दैनन्। तर, दरबन्दीमै रहेका प्रहरी कर्मचारीलाई समेत लखेट्ने काम भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार १२ जना ट्राफिक प्रहरीको काज सरुवा निकाल्यो। आवश्यकता अनुसार आन्तरिक काज खटाउनुपर्ने भएकाले सरुवा गरेको महाशाखाले जनाएको छ। तीनजना हबल्दार र ९ जना प्रहरी जवानको काज सरुवा भएको हो।

सरुवा भएकाहरुलाई अबिलम्ब खटाइएको कार्यालयमा रबाना गरी पठाउन महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्ध, महाराजगञ्ज, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर र थानकोटालाई निर्देशन दिइएको महाशाखाले निकालेको सरुवा सूचीमा उल्लेख गरिएको छ।

महाशाखामा कार्यरत तल्ला दर्जाका ट्राफिक प्रहरीहरुको सरुवा गर्ने अधिकार महाशाखा प्रमुखलाई हुन्छ। महाशाखाका प्रमुख छन् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई। भट्टराईको आदेशमा उनीहरुको सरुवा भएको हो।

तर, मंगलबार निस्केको सरुवाको सूची हचुवाको भरमा निकालिएको महाशाखाकै कर्मचारीहरु बताउँछन्। अरुको कुरा सुनेर एसएसपी भट्टराईले सरुवा गरेको ट्राफिक प्रहरीहरुले गुनासो गरेका छन्।

‘आन्तरिक सुदृढीकरणको नाममा ट्राफिक प्रमुखले प्रहरी कर्मचारीको पीरमर्का समेत नबुझी हचुवाको भरमा सरुवा गरेको छ। काज सरुवाका क्रममा पुरै बलबिज्याँईं भएको छ,’ नाम नबताउने सर्तमा एक ट्राफिक प्रहरी भन्छन्, ‘कसैलाई काखा गरिएको छ त कसैलाई पाखा गरिएको छ।’

यसरी निस्किने सरुवाले तल्लो दर्जाका ट्राफिक प्रहरीहरुको मनोबल घट्ने हुन्छ। ‘एसएसपी भट्टराईले आफूनिकटका ट्राफिक प्रहरीको कुरा सुनेर निर्णय गर्ने गरेको पाइएको छ,’ महाशाखामै कार्यरत एकजना सई भन्छन्।

आफू निकटका ट्राफिक प्रहरीको कुरा सुनेर एसएसपी भट्टराईले सरुवा निकाल्ने गरेको खबर पटक–पटक बाहिर आएको कुरा हो। अहिलेको सरुवा पनि एसएसपी भट्टराईले अरुको कुरा सुनेर गरेको आरोप छ।

‘न मैले कुनै गल्ती गरेको थिएँ। अचानक मंगलबार काज सरुवा निस्केछ,’ महाशाखाका सरुवा भएका ती ट्राफिक भन्छन्, ‘हुन त संगठनले जता पठायो त्यतै गएर काम गर्नी हो। तर बिना गल्ती काम गर्दागर्दै सरुवा गर्नु चाहिँ राम्रो होइन।’

‘थानकोटबाट महिनावारी उठ्छ’

महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) शम्भु अधिकारीले महिनावारी रुपमा पैसा उठाउने गरेको स्रोतले बतायो। एसएसपीको निर्देशमा सई अधिकारीले सिप्रदी पुलदेखि थानकोट बजारसम्म रहेका डिपो र हार्डवेयरहरुबाट महिनावारी उठाउने गरेको स्रोतको दाबी छ।

त्यस्तै पिक आवरको समयमा पनि सई अधिकारीले ठूलठूला सवारीसाधनलाई बीड सकडमा रोक्न दिएर सिमेन्ट, गिट्टी, बालुवा झार्न दिने गरेको समेत पाइएको छ।

जबकी सिमेन्ट, गिट्टी, बालुवा रातको समयमा झानुपर्ने ट्राफिक प्रहरी आफैंले बताउँदै आएको छ। तर, महिनावारी रुपमा पैसा लिने गरेपछि ट्राफिकले जहाँ पनि सामान झार्न दिएको हो। उनले थानकोटमा चल्ने टिप्परहरुबाट समेत महिनावारी रुपमा पैसा लिने गरेका छन्।

सई अधिकारी विवादित प्रहरी हुन्। उनी अधिकांश समय बिरामी बसेर जागिर खाने प्रहरी समेत हुन्। उनीसँगै बसेका एक सई भन्छन्, ‘अधिकारी सिपाहीदेखि असईसम्म बग्गीखानामा बिरामी बसेर जागिर खाएका हुन्।’

अन्य ट्राफिक प्रहरीहरुले महिनावारी उठाउने गरेको गाडीहरुलाई चिट काट्दा सई अधिकारीले एसएसपीलाई कुरा लगाउने गरेको समेत पाइएको छ। महिनावारी रुपमा पैसा बुझ्दै आएपछि कारबाही गर्नुपर्ने गाडीहरुलाई उनले त्यसै छाड्ने गरेको बताइएको छ।

‘सई अधिकारीले एसएसपीलाई कुरा लगाएपछि थानकोटमा कार्यरत ३ जना ट्राफिक प्रहरीहरुको मंगलबार सरुवा भएको हो,’ यता महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत एकजना सिपाहीले भने, ‘राम्रो काम गर्दागर्दै अरुको कुरा सुनेर एसएसपी सा’पले उनीहरुलाई परिवर्तन गर्नुभयो।’

यस विषयमा सई अधिकारीसँग बुझ्दा आफूले त्यस्तो कहिल्यै नगरेको बताए। ‘दिनभरी सडकमै हुन्छु। कुनबेला चाहिँ हार्डवेयर र डिपोहरुमा पुग्नु। यस्तो कुरा हुँदै होइन,’ सई अधिकारीले भने।

त्यस्तै प्रहरी सहायक निरीक्षक (असई) मुकुन्द खड्काले समेत थानकोटमा बसेर राज गर्दै आएका छन्। विवादित असई खड्का जहिले पनि थानकोट ट्राफिक मात्र बस्न रुचाउँछन्।

विवादित भएर महाशाखा तानिएका खड्का पछिल्लोपटक शक्तिको दुरुपयोग गर्दै थानकोटमै पुगेका हुन्। उनले थानकोट घरमा तरकारी पसल समेत राखेका छन्। बिहान–बिहान नियम विपरित मोटरसाइकलमा तरकारीको झोला बोक्दै हिँड्ने गर्छन्।

प्रतिक्रिया