रानू मण्डलको बायोपिक ‘मिस रानू मारिया’ बनाइने


मुम्बई – सामाजिक सञ्जालमा आफ्नो स्वर रहेको भिडियो सार्वजनिक भएपछि रातारात स्टार बनेकी रानू मण्डलको कथा अब फिल्मको पर्दामा उतारिने भएको छ । उनको बायोपिकको नाम ‘मिस रानू मारिया’ हुनेछ ।  फिल्मको निर्देशन ऋषिकेश मण्डलले गर्नेछन् ।

फिल्ममा रानूको भूमिका इशिका डेले गर्नेछिन् । इशिकाले कैयौं बंगाली र हिन्दी फिल्ममा अभिनय गरेकी छन् । रानूले लता मंगेशकरको गीत ‘एक प्यार का नगमा है’ गाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी भारतभर चिनिएकी थिइन् । त्यसपछि उनलाई संगीतकार हिमेश रेशमियाले आफ्नो फिल्म ‘ह्याप्पी हार्डी एण्ड हीर’मा एक गीतको प्रस्ताव गरेका थिए ।

यद्यपि हिमेशको एक मौकापछि रानू फेरी गायब भइन् । रानूको बायोपिक फिल्म बंगाली भाषामा मात्र रिलिज हुने कुरा भए पनि निर्माताले फिल्मलाई हिन्दी भाषामा पनि बनाउने निर्णय लिएका छन् । यसका लागि निर्माताले हिमेशलाई प्रस्ताव गरेका छन् ।

रानूको भूमिका निभाउन लागेकी इशिकाले रानूको जीवन यात्रा रोचक र उतारचढावपूर्ण भएकाले आफ्ना लागि यो चरित्र चुनौतिपूर्ण रहेको बताइन् । इशिकालाई रानूको लुक्समा आउन निकै मेहनत गर्नु परेको छ । उनले दुई महिनामा १० किलो तौल घटाएकी छन् ।

रानूले १२ वर्षसम्म रेल्वे स्टेसनमा मागेर गुजारा गरेकाले त्यो चरित्र आफ्ना लागि चुनौतिपूर्ण रहेको इशिकाले खुलाइन् । इशिकाले हालसम्म रानूलाई भेटेकी छैनन् । उनी कोलकातामा छिन् । यद्यपि उनी चाँडै नै रानूसँग भर्चुअली कुराकानी गर्नेछिन् । फिल्मको सुटिङ नोभेम्बरमा कोलकाताबाट सुरु हुनेछ । फिल्म सन् २०२२ को मार्च–अप्रिलमा रिलिज हुनेछ ।

प्रतिक्रिया